Nepal Purbadhar

देवानगञ्ज घटनामा ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने


काठमाडौं । सुनसरीको देवानगञ्ज गाउँपालिका-३, कप्तानगञ्जमा साउन १० गते भएको घटनामा ज्यान गुमाएका ओमप्रकाश मेहता र जयप्रकाश मेहताका परिवारसँग सरकारले ७ बुँदे सहमति गरेको छ। गृहमन्त्री सुधन गुरूङ र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता घटनास्थल पुगेर पीडित परिवारसँग छलफल गरेपछि उक्त सहमति भएको हो।

साउन १४ गते भएको सहमतिपत्रमा गृहमन्त्रालयका तर्फबाट गृहमन्त्री गुरूङ र मृतकका अभिभावकबीच हस्ताक्षर भएको छ। सहमतिअनुसार सरकारले दुवै मृतकलाई शहीद घोषणा गर्ने प्रक्रिया तत्काल अघि बढाउने तथा प्रत्येक परिवारलाई १०/१० लाख रुपैयाँ राहत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।

सहमतिमा घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइने उल्लेख छ। साथै देवानगञ्ज-३ स्थित मदरसाको कानुनी हैसियतबारे तत्काल छानबिन गरिने र प्रत्येक मृतक परिवारका एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने विषय पनि समेटिएको छ।

यस्तै, घटनाबारे गठित छानबिन समितिको प्रतिवेदनका सुझाव कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने तथा मृतकको सम्झनामा स्थानीय सरकारसँगको समन्वयमा स्मृति पार्क निर्माण गर्ने सहमति भएको छ।

घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले समाधानका लागि सक्रिय पहल गरेको जनाइएको छ। उनले गृह मन्त्रालय, सुरक्षा निकाय, स्थानीय तह र पीडित परिवारसँग निरन्तर समन्वय गर्दै वार्ताको वातावरण निर्माणमा भूमिका निर्वाह गरेकी थिइन्। यसअघि गृहमन्त्री गुरूङ र मन्त्री मेहताले अस्पताल पुगेर घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक उपचारका लागि सम्बन्धित निकायलाई निर्देशन दिएका थिए।

सरकार र पीडित परिवारबीच सहमति भएपछि मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको आज दिउँसो २ बजे अन्त्येष्टि गरिने भएको छ।


Read Previous

राष्ट्रका नाममा सम्बोधनलगत्तै राष्ट्रपति पौडेललाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री शाह

Read Next

फिर्के खोलाको अतिक्रमण हटाउने अभियान सुस्त, ५५ संरचना अझै भत्काउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar