Nepal Purbadhar

फ्लाई दुबईलाई पोखरा–दुबई दैनिक उडान अनुमति, सेप्टेम्बर २३ देखि सेवा शुरू हुने


पोखरा । संयुक्त अरब इमिरेट्सको वायुसेवा कम्पनी फ्लाई दुबईले पोखरा–दुबई सिधा उडान सञ्चालनका लागि अनुमति प्राप्त गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले कम्पनीलाई आगामी सेप्टेम्बर २३ देखि दुबई–पोखरा–दुबई दैनिक उडान सञ्चालन गर्न स्वीकृति दिएको हो।

पोखरा अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाका अनुसार फ्लाई दुबईको उडान तालिका सोमबार स्वीकृत भइसकेको छ। यससँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट नियमित अन्तरराष्ट्रिय उडान सञ्चालनतर्फ महत्वपूर्ण उपलब्धि हासिल भएको छ।

उडान अनुमति प्राप्त गर्नुअघि फ्लाई दुबईको प्राविधिक टोलीले पोखरा अन्तरराष्ट्रिय विमानस्थलको सुरक्षा, सेफ्टी तथा सञ्चालन व्यवस्थाको विस्तृत निरीक्षण गरेको थियो। सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रममा अन्तरराष्ट्रिय वायुसेवा कम्पनीलाई पोखरामा आकर्षित गर्न कूटनीतिक पहल गर्ने घोषणा गरेको केही समयमै फ्लाई दुबईले अनुमति पाएको हो।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले यो निर्णयलाई पोखरा अन्तरराष्ट्रिय विमानस्थलको भविष्यका लागि महत्वपूर्ण उपलब्धिका रूपमा वर्णन गरेका छन्। उनका अनुसार दुबईसँग प्रत्यक्ष हवाई सम्पर्क स्थापित भएपछि मध्यपूर्व, युरोप, अफ्रिका लगायत विश्वका ३०० भन्दा बढी सहरसँग पोखराको पहुँच विस्तार हुनेछ।

उनले यसलाई केवल नयाँ हवाई सेवा थपिने विषय नभई पोखराको अन्तरराष्ट्रिय पहिचान सुदृढ गर्ने, पर्यटन प्रवर्द्धन गर्ने, आर्थिक गतिविधि विस्तार गर्ने तथा काठमाडौंमा केन्द्रित हवाई चापलाई विकेन्द्रीकरण गर्ने अवसरका रूपमा व्याख्या गरे।

झण्डै २२ अर्ब रुपैयाँ लागतमा निर्माण भएको पोखरा अन्तरराष्ट्रिय विमानस्थल सन् २०२३ जनवरी १ मा सञ्चालनमा आएको थियो। तर हालसम्म छिमेकी देशहरूमा सीमित चार्टर उडानबाहेक नियमित अन्तरराष्ट्रिय सेवा सञ्चालन हुन सकेको थिएन।

यसअघि सन् २०२५ मार्चमा हिमालय एयरलाइन्सले पोखरा–ल्हासा नियमित व्यावसायिक उडान शुरू गरेको थियो। तर उक्त सेवा लामो समय सञ्चालन हुन नसकी गत मार्च २३ देखि बन्द भएको थियो।

करिब पाँच दशकअघिदेखिको पोखरा अन्तरराष्ट्रिय विमानस्थल निर्माणको सपना पूरा भए पनि नियमित अन्तरराष्ट्रिय उडान अभावले यसको पूर्ण क्षमता उपयोग हुन सकेको छैन। पर्यटकीय राजधानीका रूपमा परिचित पोखराका पर्यटन व्यवसायीहरू भने विमानस्थलमार्फत ठूलो सङ्ख्यामा विदेशी पर्यटक भित्रिने अपेक्षामा छन्।

व्यवसायीहरूका अनुसार विमानस्थल सञ्चालनमा आएपछि पोखराको पर्यटन क्षेत्रमा झण्डै एक खर्ब रुपैयाँ बराबरको थप लगानी भित्रिएको छ। उनीहरूले अन्तरराष्ट्रिय उडान विस्तारका लागि आवश्यक नीतिगत सहजीकरण, भारत र चीनका प्रमुख सहरमा उडान अनुमति तथा थप अन्तरराष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्न सरकारसँग माग गर्दै आएका छन्।

फ्लाई दुबईको नियमित सेवा शुरू भएसँगै पोखरा अन्तरराष्ट्रिय विमानस्थललाई अन्तरराष्ट्रिय हवाई सञ्जालमा प्रभावकारी रूपमा जोड्ने प्रयासले नयाँ गति लिने अपेक्षा गरिएको छ।


Read Previous

वसन्तकालीन हिमाल आरोहण सकियो, १ अर्ब २६ करोड रुपैयाँ बढी राजस्व संकलन

Read Next

एआई पूर्वाधार विस्तारका लागि ओपनएआईको ठूलो वित्तीय तयारी, आईपीओको बाटो खुला

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar