Nepal Purbadhar

सुनसरी घटनाप्रति उद्योग वाणिज्य महासङ्घको चिन्ता, शान्ति र सामाजिक सद्भाव कायम गर्न आग्रह


काठमाडौं। नेपाल उद्योग वाणिज्य महासङ्घ (एफएनसिसिआई)ले सुनसरीको कप्तानगञ्जलगायत तराईका विभिन्न जिल्लामा उत्पन्न भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासङ्घले बिहीबार जारी गरेको विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक एकताको अनुपम उदाहरण भएको उल्लेख गर्दै तराई-मधेश क्षेत्र विभिन्न जातजाति, भाषाभाषी र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्र रहेको जनाएको छ।

महासङ्घले कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, हिंसा र तनावले सामाजिक सद्भाव मात्र नभई उद्योग, व्यापार, दैनिक जनजीवन तथा समग्र आर्थिक गतिविधिमा गम्भीर असर पर्ने उल्लेख गरेको छ।

विज्ञप्तिमा सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको पूर्वशर्तका रूपमा व्याख्या गर्दै जुनसुकै मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्रै सम्भव हुने विश्वास व्यक्त गरिएको छ।

महासङ्घले सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति-सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ।

साथै, तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई सामान्य बनाउँदै शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारकर्मी तथा स्थानीय समुदायले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा महासङ्घले जोड दिएको छ।


Read Previous

सुनसरी घटनापछि सामाजिक सद्भाव कायम राख्न नेपाल उद्योग परिसंघको अपिल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar