
पोखरा। पोखरा महानगरपालिकाले फिर्के खोलाको अतिक्रमण हटाउने अभियानअन्तर्गत दुई महिनाअघि डोजर चलाएर संरचना भत्काउन थाले पनि अभियान अहिले सुस्त बनेको छ। हालसम्म अधिकांश अस्थायी संरचना हटाइए पनि ५५ वटा संरचना अझै भत्काउन बाँकी रहेका छन्।

२०८० सालको नापजाँच प्रतिवेदनका आधारमा फिर्के खोलाको बहाव क्षेत्रमा रहेका कुल १ सय ६० अवैध संरचनामध्ये हालसम्म १०५ वटा अस्थायी तथा केही पक्की संरचना हटाइएको छ। तर खोलाको बहाव क्षेत्रभित्रै पर्ने करिब ५५ वटा पक्की तथा संस्थागत संरचना अझै यथावत् छन्। भत्काइएका कतिपय घरमा भने मानिसहरूले अझै बसोबास गरिरहेका छन्।
महानगरका अनुसार बाँकी रहेका संरचनामध्ये केही सरकारी कार्यालय, सामुदायिक भवन र ठूला पक्की घर परेकाले नापजाँच तथा कानुनी प्रक्रिया पूरा गर्न समय लागेको हो।

एसियन डेभलपमेन्ट बैंकको सहयोगमा निर्माण गर्ने भनिएको पर्यटन करिडोरको काम समयमै अघि बढ्न नसक्दा अतिक्रमण हटाउने अभियान पनि प्रभावित भएको बताइएको छ।
अभियान बीचमै सुस्ताएपछि वातावरण संरक्षणमा सक्रिय अभियन्ताहरूले चिन्ता व्यक्त गरेका छन्। वातावरण अभियन्ता रामबहादुर पौडेलले फिर्के खोलाको संरक्षणका लागि बाँकी संरचना यथाशीघ्र हटाउनुपर्ने बताए। उनले अतिक्रमण हटाएर पैदलमार्ग र साइकल लेनसहितको फिर्के करिडोर निर्माणलाई निरन्तरता दिन महानगरसँग आग्रह गरेका छन्।

पोखरा महानगरपालिकाले गत जेठ १० गतेदेखि फिर्के खोलाको किनारमा बनेका संरचना तीन स्थानबाट एकसाथ डोजर परिचालन गरेर हटाउन थालेको थियो। संरचना भत्काउनुअघि महानगरले सम्बन्धित पक्षलाई ३५ दिनको समय दिएको थियो।
हाल फिर्के खोलाको किनारमा कतै भग्नावशेषमा मानिसको बसोबास जारी छ भने कतिपय संरचना भत्काउन अझै बाँकी रहेको अवस्था देखिन्छ।


