Nepal Purbadhar

साउनभित्र सञ्चालनमा आउने तयारीमा नागढुङ्गा सुरुङमार्ग, प्रवर्द्धनका लागि ‘टनेल रन एण्ड वाक’


काठमाडौँ। नागढुङ्गा सुरुङमार्गबारे सर्वसाधारणमा जनचेतना अभिवृद्धि गर्न शुक्रबार नागढुङ्गा सुरुङमार्गमा ‘नागढुङ्गा टनेल रन एण्ड वाक’ कार्यक्रम आयोजना गरिएको छ। सडक विभाग र जापान अन्तरराष्ट्रिय सहयोग नियोग (जाइका) नेपालको संयुक्त आयोजनामा दौड तथा पदयात्रा कार्यक्रम सम्पन्न भएको हो।

नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजना कार्यालयका निर्देशक सौजन्य नेपालले सुरुङमार्गको महत्व, उपयोगिता र सञ्चालनसम्बन्धी जानकारी सर्वसाधारणसम्म पुर्‍याउने उद्देश्यले प्रवर्द्धनात्मक कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

उनका अनुसार नागढुङ्गा–नौबिसे सुरुङमार्गको लम्बाइ दुई हजार ६८८ मिटर रहेको छ। काठमाडौँ उपत्यकामा प्रवेश तथा बाहिरिने मुख्य नाका भएकाले यो सुरुङमार्ग सञ्चालनमा आएपछि यात्रा समय घट्ने र सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ।

सुरुआती ठेक्का सम्झौताअनुसार आयोजना सन् २०२३ अप्रिल २६ भित्र सम्पन्न हुनुपर्ने थियो। तर ठेकेदार कम्पनीको ढिलासुस्ती र स्थानीयवासीको अवरोधका कारण निर्माण कार्यमा ढिलाइ भएको आयोजना कार्यालयले जनाएको छ।

आयोजना निर्देशक नेपालले सुरुङमार्गलाई साउनभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको बताए। उनका अनुसार अन्तिम चरणका तयारी कार्य भइरहेको छ।

आयोजनाका अनुसार नागढुङ्गा–नौबिसे नाका हुँदै दैनिक औसतमा दुई पाङ्ग्रे बाहेक करिब आठ हजारभन्दा बढी साना तथा ठूला सवारीसाधन आवतजावत गर्छन्। तीमध्ये करिब ६० प्रतिशत सवारीसाधनले सुरुङमार्गको उपयोग गर्ने अनुमान गरिएको छ।

यद्यपि, सुरुङमार्गमा दुई पाङ्ग्रे सवारीसाधन सञ्चालन गर्न अनुमति दिइने छैन। आयोजना कार्यालयले सुरुङमार्ग सञ्चालनपछि काठमाडौँ प्रवेश र बाहिरिने यातायात व्यवस्थापनमा उल्लेखनीय सुधार आउने विश्वास व्यक्त गरेको छ।


Read Previous

एक वर्षमा ५८ अर्ब रुपैयाँभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता स्वीकृत, आईटी क्षेत्रमा सबैभन्दा धेरै

Read Next

भारतको पहिलो निजी अर्बिटल रकेट सफल प्रक्षेपण, अन्तरिक्ष क्षेत्रमा नयाँ इतिहास

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar