
DCIM105MEDIADJI_0089.JPG
पोखरा, साउन ३ । लगातारको वर्षापछि खसेको पहिरोले पोखराको सेती नदी आंशिक रूपमा थुनिएको छ। नदीको बहाव अवरुद्ध भएपछि माथिल्लो क्षेत्रमा पानीको सतह उल्लेखनीय रूपमा बढेको छ।
पोखरा महानगरपालिका–१५ र १७ को सीमानास्थित रातोपैह्रो क्षेत्रमा सेती नदीले कटान गरेपछि खसेको ठूलो पहिरोले नदीको केही भाग थुनिएको हो।

घटनाको जानकारी प्राप्त हुनासाथ कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङ, जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्की तथा पोखरा महानगरपालिकाकी उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले आइतबार बिहान घटनास्थलको निरीक्षण गरेको थियो।

पोखरा महानगरपालिकाकी उपप्रमुख गुरुङका अनुसार पहिरोका कारण नदीको पानी पूर्ण रूपमा निकास हुन नसक्दा थुनिएको स्थानभन्दा माथिल्लो क्षेत्रमा पानीको सतह करिब ५० मिटरले बढेको छ।

सम्बन्धित निकायले नदीको अवस्थाको निरन्तर निगरानी गरिरहेको जनाएको छ। थप वर्षा भए जोखिम बढ्न सक्ने भएकाले सेती नदी आसपासका बासिन्दा तथा सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको छ।



