Nepal Purbadhar

मन्त्रिपरिषद्मा मन्त्री चौधरीले बाँडिन् डीडीसीका उत्पादन, राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न जोड


काठमाडौं। स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्ने उद्देश्यसहित सरकारले दुग्ध विकास संस्थान (डीडीसी) का उत्पादनहरूको बजार विस्तार र प्रवर्द्धनमा विशेष चासो देखाएको छ।

मन्त्रिपरिषद्को आजको बैठकमा कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले डीडीसीका उत्पादनहरूको देशव्यापी प्रवर्द्धन तथा उपभोग विस्तारसम्बन्धी एजेन्डा प्रस्तुत गरेकी थिइन्। उनले स्वदेशी दुग्ध उत्पादनको संरक्षण, किसानको हित प्रवर्द्धन तथा संस्थानको व्यावसायिक सुदृढीकरणका लागि डीडीसीका उत्पादनलाई प्राथमिकता दिनुपर्नेमा जोड दिइन्।

मन्त्री चौधरीले डीडीसीलाई थप प्रतिस्पर्धी, गुणस्तरीय र आत्मनिर्भर संस्थाका रूपमा विकास गर्न सरकारी निकायहरूबीच प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्। नेपाली दुग्ध किसानबाट सङ्कलित दूधको उचित व्यवस्थापन तथा उत्पादनको सुनिश्चित बजारका लागि सरकारी सहयोग अपरिहार्य रहेको उनको भनाइ थियो।

बैठकका क्रममा उनले प्रधानमन्त्री वालेन्द्र शाहसहित मन्त्रिपरिषद्का सदस्यहरूलाई डीडीसीका विभिन्न दुग्धजन्य उत्पादनहरूको प्याकेज वितरण गरेकी थिइन्।

लामो समयदेखि नेपाली उपभोक्तामाझ दूध, घिउ, दही, पनिर, चिजलगायतका दुग्धजन्य उत्पादन उपलब्ध गराउँदै आएको डीडीसीको प्रवर्द्धन अभियानलाई सरकारले थप प्राथमिकता दिने संकेत गरेको छ।

यस अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले पनि स्वदेशी उत्पादनको प्रयोग र प्रवर्द्धनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिँदै डीडीसीका उत्पादनहरूको उपभोग बढाउन सबै पक्षले सहयोग गर्नुपर्ने बताएका थिए।

सरकारले स्वदेशी उत्पादनको प्रयोग बढाएर किसानको आय वृद्धि, कृषि क्षेत्रको सुदृढीकरण तथा आयात प्रतिस्थापनमा योगदान पुर्‍याउने लक्ष्य राखेको जनाएको छ।


Read Previous

राहुघाटको २२० केभी स्विचयार्ड सञ्चालनमा, १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो

Read Next

बुद्ध एयरद्वारा अवकाशप्राप्त एटीआर-७२ विमानको फ्युजलेज नेपाली सेनालाई हस्तान्तरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar