
काठमाडौं। उडान सेवाबाट अवकाश प्राप्त एटीआर-७२ (एमएसएन-५३५) विमानको फ्युजलेज बुद्ध एयरले नेपाली सेनालाई हस्तान्तरण गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्याङ्गरमा आयोजित कार्यक्रममा कम्पनीका कार्यकारी अध्यक्ष वीरेन्द्रबहादुर बस्नेतले उक्त फ्युजलेज नेपाली सेनाका युद्धकार्य प्रमुख उपरथी अनुप जंग थापालाई हस्तान्तरण गरेका हुन्।
उक्त विमानले करिब ७० हजार उडान चक्र (साइकल) पूरा गरेपछि केही महिनाअघि नै सेवा निवृत्त गरिएको थियो।
हस्तान्तरण कार्यक्रममा बोल्दै कार्यकारी अध्यक्ष बस्नेतले नेपाली सेना विपद् व्यवस्थापन, पूर्वाधार निर्माण, शान्ति–सुरक्षा तथा राष्ट्रिय हितका विविध जिम्मेवारीमा निरन्तर सक्रिय रहेको उल्लेख गर्दै यस्तो संस्थासँग सहकार्य गर्न पाउनु बुद्ध एयरका लागि गौरवको विषय भएको बताए।
उनका अनुसार हस्तान्तरण गरिएको फ्युजलेज विमानस्थलमा हुनसक्ने हवाई दुर्घटना, विभिन्न प्रकारका सुरक्षा चुनौती तथा आपतकालीन अवस्थाको पूर्वतयारी र प्रतिकार क्षमताको अभ्यासका लागि उपयोगी हुनेछ।
यो फ्युजलेजलाई विमानस्थल आपतकालीन योजना (एईपी) अन्तर्गत विभिन्न सतर्कता स्तर (अलर्ट लेवल)का प्रशिक्षणमा प्रभावकारी रूपमा प्रयोग गर्न सकिने अपेक्षा गरिएको छ।
कार्यक्रममा नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक प्रेमनाथ ठाकुरले पनि फ्युजलेज हस्तान्तरणले नेपाली सेनालाई पूर्वाभ्यास, सुरक्षा तयारी तथा आपतकालीन परिस्थितिको सामना गर्न महत्वपूर्ण सहयोग पुग्ने बताए।
उनले बुद्ध एयर र प्राधिकरणबीच निरन्तर सुरक्षा सहकार्य हुँदै आएको उल्लेख गर्दै यस पहललाई उदाहरणीय कदमका रूपमा प्रशंसा गरे।
