Nepal Purbadhar

राहुघाटको २२० केभी स्विचयार्ड सञ्चालनमा, १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडियो


म्याग्दी। म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरमा निर्माण गरिएको २२० केभी क्षमताको स्विचयार्ड सञ्चालनमा आएको छ। स्विचयार्डमार्फत राहुघाट करिडोरका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको छ।

नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावरद्वारा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको स्विचयार्डमार्फत राहुघाट करिडोरका चार जलविद्युत् आयोजनाबाट उत्पादन हुने कुल १२७.८ मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरिएको हो।

आयोजनाका प्रमुख राजबहादुर बिष्टका अनुसार स्विचयार्डमा जडान गरिएका उपकरणहरूको परीक्षण सफल भएपछि सोमबारदेखि राष्ट्रिय प्रणालीमा विद्युत् प्रवाह शरू गरिएको छ।

उनका अनुसार राहुघाट करिडोरका आयोजनाहरूबाट आउने तथा भविष्यमा राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् २२० केभी क्षमताको कालीगण्डकी करिडोर प्रसारण लाइनमा ‘लुप इन–लुप आउट’ प्रणालीमार्फत जोड्ने संरचना तयार भइसकेको छ। अहिले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादनको तयारी भइरहेको छ।

राहुघाट आयोजनाका सिभिल महाशाखा प्रमुख रविन कट्टेलले एयर इन्सुलेटेड सिस्टम (एआइएस) प्रविधिमा आधारित स्विचयार्ड निर्माण गरिएको जानकारी दिए। स्विचयार्ड निर्माणको काम भारतको भारत हेवी इलेक्ट्रिकल्स लिमिटेड (भेल) ले गरेको हो। आयोजनासँग सम्बन्धित चारवटा प्रसारण लाइनका टावरसमेत निर्माण सम्पन्न भइसकेका छन्।

हाल ३५.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले–राहुघाट, ४८.५ मेगावाट क्षमताको अपर राहुघाट, २१.३ मेगावाट क्षमताको ठूलोखोला तथा २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजनाको विद्युत् राहुघाट स्विचयार्ड हुँदै राष्ट्रिय प्रणालीमा प्रवाह भइरहेको छ।

निर्माणको अन्तिम चरणमा पुगेको राहुघाट जलविद्युत् आयोजनाबाट उत्पादन हुने विद्युत् पनि यही स्विचयार्ड र प्रसारण संरचनामार्फत राष्ट्रिय प्रणालीमा जोडिनेछ। रघुगङ्गा हाइड्रोपावरका प्रबन्ध सञ्चालक गणेश केसीका अनुसार शरूङ, बाँध, विद्युत्गृहलगायतका भौतिक संरचना निर्माण तथा उपकरण जडानको काम अन्तिम चरणमा पुगेको छ र आयोजना परीक्षण उत्पादनको तयारीमा जुटेको छ।

भारतीय निर्माण कम्पनी जयप्रकाश एसोसिएट्स (जेपी) ले सन् २०१७ नोभेम्बर १७ मा करिब ६ अर्ब रुपैयाँ लागतमा आयोजना निर्माणको ठेक्का पाएको थियो। ४५ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजना विभिन्न कारणले समयमै पूरा हुन नसकेपछि पटक–पटक म्याद थपिएको छ। चौथोपटक थपिएको समयभित्र आयोजना सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको प्रबन्ध सञ्चालक केसीले बताए।


Read Previous

रोशी खोलामा बहाव बढेपछि बिपी राजमार्गमा सवारी आवागमन बन्द

Read Next

मन्त्रिपरिषद्मा मन्त्री चौधरीले बाँडिन् डीडीसीका उत्पादन, राष्ट्रिय गौरवका रूपमा प्रवर्द्धन गर्न जोड

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar