
काभ्रेपलाञ्चोक। रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न १२:३० बजेदेखि सवारी आवागमन बन्द गरिएको छ।
जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक रवीन विष्टका अनुसार यात्रु तथा सवारीसाधनको सुरक्षालाई ध्यानमा राख्दै रोशी खण्डमा सञ्चालन हुने सबै प्रकारका सवारीसाधनको आवागमन रोकिएको हो।
प्रहरीले बिपी राजमार्ग हुँदै आवतजावत गर्ने सवारीसाधनलाई काभ्रेपलाञ्चोकको धुलिखेल तथा सिन्धुली जिल्लाको सुरक्षा समितिसँग समन्वय गरी खुर्कोट र नेपालथोक क्षेत्रमा रोकेको जनाएको छ।
बेमौसमी वर्षाका कारण पछिल्ला दिनमा बिपी राजमार्ग बारम्बार प्रभावित हुँदै आएको छ। सडकमा जोखिम बढेपछि रातिको समयमा लागू गरिएको अनिश्चितकालीन बन्दसमेत थप लम्बिएको छ।
प्रहरीले सडकको अवस्था तथा मौसमसम्बन्धी जानकारी लिएर मात्रै यात्रा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
