Nepal Purbadhar

आफुखुसी हेडलाइट र प्रेसर हर्न प्रयोग गरे कडा कारबाही हुने


काठमाडौं । यातायात व्यवस्था विभागले सवारी साधनमा मापदण्डविपरीतका हेडलाइट तथा हर्न जडान गरी सञ्चालन गर्ने चालक तथा सवारीधनीमाथि कडा कारबाही गरिने चेतावनी दिएको छ।

विभागले अत्यन्त जरुरी सूचना जारी गर्दै उत्पादक कम्पनीले तोकेको प्राविधिक मापदण्डभन्दा फरक क्षमताका बत्ती तथा हर्न जडान गरी सवारी सञ्चालन गर्ने प्रवृत्ति बढ्दै गएको जनाएको छ। यस्ता बत्ती र हर्नका कारण अन्य सवारी चालक तथा पैदलयात्रीलाई समस्या हुने, दृश्यता प्रभावित हुने तथा सडक दुर्घटनाको जोखिम बढ्ने विभागको भनाइ छ।

विभागका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को धारा ३९ बमोजिम सम्बन्धित कार्यालयको स्वीकृति बिना सवारी साधनमा हेरफेर गर्न पाइँदैन। त्यसैले कम्पनीले निर्धारण गरेको स्पेसिफिकेसनभन्दा बाहिरका हेडलाइट तथा अन्य उपकरण जडान गर्नु कानुनविपरीत हुने विभागले स्पष्ट पारेको छ।

सवारी निरीक्षण तथा परीक्षण मापदण्ड, २०७४ अनुसार डिप वा लो–बिम हेडलाइटको प्रकाश तीव्रता १५ हजारदेखि ३० हजार क्यान्डेलासम्म हुनुपर्ने व्यवस्था छ। त्यस्तै, हाई–बिम हेडलाइटको हकमा प्रत्येक बत्तीको प्रकाश तीव्रता १ लाख क्यान्डेलाभन्दा कम तथा चारवटै हेडलाइटको कुल तीव्रता २ लाख क्यान्डेलाभन्दा कम हुनुपर्ने प्रावधान छ। विभागले आँखा झिम्क्याउने वा अत्यधिक चम्किला अतिरिक्त बत्ती जडान गर्न नपाइने जनाएको छ।

त्यसैगरी, हर्नको ध्वनि क्षमता न्यूनतम ९० डेसिबल र अधिकतम ११२ डेसिबलसम्म मात्र हुनुपर्ने व्यवस्था रहेको विभागले स्मरण गराएको छ। प्रेसर हर्न तथा मापदण्डविपरीतका अन्य हर्न प्रयोग गर्न नपाइने पनि सूचनामा उल्लेख छ।

विभागले तोकिएको मापदण्डविपरीत बत्ती वा हर्न जडान गरी सवारी सञ्चालन गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ। साथै, सडक सुरक्षालाई ध्यानमा राखी सबै सवारीधनी तथा चालकलाई निर्धारित मापदण्डको पालना गर्न आग्रह गरेको छ।

सवारी-साधनको-हेडलाइट-तथा-हर्नको-प्रयोग-सम्बन्धी-जरुरी-सूचना_ur1madw

Read Previous

मन्त्रिपरिषद् बैठकका निर्णय: गुरुङमाथि छानबिन गर्न बनेको समितिको प्रतिवेदन ग्रहण

Read Next

रोशी खोलामा बहाव बढेपछि बिपी राजमार्गमा सवारी आवागमन बन्द

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar