
फाईल तस्बीर।
मुस्ताङ। वारागुङ मुक्तिक्षेत्र–१ मा रहेको हिन्दू तथा बौद्धमार्गीको पवित्र धार्मिकस्थल मुक्तिनाथ मन्दिर जोड्ने कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति कार्य शुरू भएको छ।
हिमपात र वर्षाका कारण प्रत्येक वर्ष दर्जनौँ स्थानमा सडक भाँसिने, भत्किने तथा जीर्ण बन्दै गएपछि सडकको सुधार तथा स्तरोन्नति कार्य अघि बढाइएको हो।
गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयअन्तर्गत पूर्वाधार विकास कार्यालयले १२ किलोमिटर लामो कागबेनी–मुक्तिनाथ सडक खण्डको मर्मत तथा स्तरोन्नति शुरू गरेको जनाएको छ।
उक्त कार्यका लागि धोर्जे फूर्वा निर्माण सेवा र पूर्वाधार विकास कार्यालयबीच सालबसाली ठेक्का सम्झौता भएको छ। अहिले वारागुङ–१ को खिङ्गादेखि झारकोटसम्मको अप्ठ्यारो खण्डमा मर्मत तथा स्तरोन्नति भइरहेको छ।
पूर्वाधार विकास कार्यालयका अनुसार कागबेनीबाट मुक्तिनाथतर्फ जाने उकालो घुम्ती क्षेत्रमा सडक चौडा पारिने तथा सम्याउने काम भइरहेको छ। साथै झारकोट गाउँको ओरालो नजिकको जीर्ण खण्डमा दुईतर्फी सवारी सञ्चालन गर्न मिल्ने गरी पर्खाल निर्माणसमेत भइरहेको छ।
सडकको किनारमा थुप्रिएको माटो हटाउने काम पनि जारी छ। चालु आर्थिक वर्षको असारभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
स्थानीय जनप्रतिनिधिहरूका अनुसार यो सडक दैनिक सयौँ सवारीसाधन आवतजावत गर्ने मुख्य मार्ग भए पनि बारम्बारको क्षतिका कारण आवागमनमा समस्या हुँदै आएको थियो।
बर्सेनि हिमपात र वर्षाका कारण सडक बारम्बार भत्किने, हिलाम्मे हुने र आवागमन अवरुद्ध हुने समस्या दोहोरिँदै आएको थियो। वर्षमा पाँच–छ पटकसम्म सवारी आवागमन प्रभावित हुने गरेको छ।
यसअघि विसं २०७४ मा १२ किलोमिटर उक्त सडक कालोपत्र गरिएको थियो। तर झण्डै आठ वर्षमै खिङ्गादेखि झारकोटसम्मको खण्डमा कालोपत्र उप्किने, बिग्रिने र संरचनामा क्षति पुग्ने समस्या देखिएको छ।
सडक स्तरोन्नतिसँगै मुक्तिनाथ जाने तीर्थयात्री तथा पर्यटकहरूको आवागमन सहज हुने अपेक्षा गरिएको छ।
