
काठमाडौं। नेपालको विद्युतीय, इलेक्ट्रोनिक्स, ऊर्जा, सञ्चार तथा सूचना प्रविधि क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित ‘फिन इलेक्ट्रो–टेक २०२६’ को १२औँ संस्करण काठमाडौंको भृकुटीमण्डपमा शुरू भएको छ।
नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा तथा ट्रान्सवेल्ड ट्रान्सफर्मरको मुख्य प्रायोजनमा आयोजित प्रदर्शनीको उद्घाटन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गरेका हुन्।

जेठ २५ गतेसम्म सञ्चालन हुने प्रदर्शनीलाई नेपालको विद्युतीय तथा ऊर्जा क्षेत्रको सबैभन्दा ठूलो र प्रतिष्ठित मेलामध्ये एक मानिन्छ। आयोजकका अनुसार प्रदर्शनीले ऊर्जा, विद्युतीय सामग्री, औद्योगिक स्वचालन, स्मार्ट प्रविधि तथा इलेक्ट्रोनिक्स क्षेत्रका नवीनतम उत्पादन, सेवा र प्रविधिको प्रदर्शन गर्दै व्यवसायिक सहकार्य तथा प्रविधि हस्तान्तरणका अवसर सिर्जना गर्नेछ।

प्रदर्शनीमा नेपाल, भारत, चीनलगायत विभिन्न देशका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीहरूको सहभागिता रहेको छ। सहभागी कम्पनीहरूले ऊर्जा तथा विद्युतीय क्षेत्रसँग सम्बन्धित अत्याधुनिक प्रविधि, उपकरण र सेवाहरू प्रदर्शनीमा राखेका छन्।
आयोजकका अनुसार यो प्रदर्शनी उद्योगी, व्यवसायी, प्राविधिक, नीति निर्माता, शैक्षिक संस्था तथा उपभोक्ताबीच ज्ञान, अनुभव र प्रविधिको आदान–प्रदान गर्ने महत्वपूर्ण मञ्चका रूपमा स्थापित हुँदै आएको छ। प्रदर्शनीले ऊर्जा तथा प्रविधि क्षेत्रमा नवप्रवर्तन, लगानी र सहकार्यलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

तस्बिर : नेपाल फोटो लाइब्रेरी
