
काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा नागरिक उड्डयन पूर्वाधार विस्तार तथा विमानस्थल सेवा सुधारलाई प्राथमिकतामा राख्दै रु २ अर्ब ९३ करोड विनियोजन गरेको छ।
सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को स्तरोन्नतिका लागि रु १ अर्ब ५३ करोड विनियोजन गरेको छ। साथै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको मोडालिटी छ महिनाभित्र टुंग्याउने योजना सरकारले अघि सारेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल को सञ्चालन व्यवस्थापनमा निजी क्षेत्रसँग सहकार्य गरिनेछ।
भरतपुर विमानस्थललाई विस्तार गरी रात्रीकालीन उडान सञ्चालन गर्ने सरकारको योजना छ। त्यस्तै प्रदेश सरकारसँगको सहकार्यमा सुर्खेत विमानस्थल विस्तार गरिनेछ। मुगुको ताल्चा र दाङको टरिगाउँ विमानस्थल पनि स्तरोन्नति गरिनेछ।
संस्कृति तथा पर्यटन क्षेत्रका लागि रु ७ अर्ब ३४ करोड र नागरिक उड्डयन क्षेत्रका लागि रु २ अर्ब ९३ करोड विनियोजन गरिएको हो।
