
काठमाडौं। सरकारले हालैको विपद्बाट क्षतिग्रस्त संरचनाको पुनर्स्थापना तथा पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग लिने तयारी गरेको छ। परराष्ट्रमन्त्री शिशिर खनालले पुनर्निर्माणका लागि आवश्यक सहयोग जुटाउन दाता सम्मेलन गर्नेसम्मको तयारी हुनसक्ने संकेत गरेका छन्।
परराष्ट्र मन्त्रालयमा शनिबार आयोजित प्रेस ब्रिफिङमा मन्त्री खनालले विपद्का कारण पूर्वाधार, सडक सञ्जाल, पुल तथा जलविद्युत् आयोजनालगायतका क्षेत्रमा ठूलो क्षति पुगेको बताए। अहिले क्षतिको विस्तृत मूल्याङ्कन भइरहेको र मूल्याङ्कनपछि पुनर्निर्माणका लागि आवश्यक योजना तथा सहयोगको खाका तयार गरिने उनले बताए।
उनका अनुसार विपद्पछि उद्धार तथा राहतका लागि नेपालले छिमेकी मुलुकसहित विभिन्न देशबाट सहयोग प्राप्त गरिरहेको छ। भारतबाट मात्रै हालसम्म ५७ टनभन्दा बढी राहत सामग्री प्राप्त भएको र चीन, जापान, अष्ट्रेलियालगायतका मुलुकबाट पनि अत्यावश्यक राहत सामग्री आइरहेको उनले जानकारी दिए।
विपद् व्यवस्थापन तथा राहत सहयोगका विषयमा आफूले विदेशी समकक्षीहरूसँग प्रत्यक्ष संवाद गरिरहेको मन्त्री खनालले बताए। भारतीय विदेशमन्त्री एस. जयशंकरसँग कुराकानी भइसकेको र चिनियाँ विदेशमन्त्री वाङ यीसँग पनि कुराकानी गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
मन्त्री खनालले नेपालले विदेशी सहयोग अस्वीकार गरेको भन्ने सञ्चारमाध्यममा आएका समाचारप्रति आपत्ति जनाउँदै त्यस्ता समाचार पूर्ण रूपमा निराधार र झुटा भएको दाबी गरे।
उनले अहिले प्राथमिकता उद्धार तथा राहतमा रहेको र त्यसपछि क्षतिको विस्तृत मूल्याङ्कनका आधारमा पुनर्स्थापना तथा पुनर्निर्माणको काम अघि बढाइने बताए। पुनर्निर्माणका लागि आवश्यक स्रोत जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग सहकार्य गरिने सरकारको तयारी छ।
