
काठमाडौं । बाढीका कारण लेदो र माटोले पुरिएको त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमार्गमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ।
बिहानैदेखि प्राविधिकसहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरुङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत उद्धारका लागि मार्ग खोल्ने प्रयास गरिरहेको थियो। सो क्रममा केहीबेरअघि सुरुङको माथिल्लो भागमा रहेको ‘क्राउन’ पहिचान भएको घटनास्थलबाट जानकारी प्राप्त भएको छ।
क्राउन पहिचान भएपछि सुरुङभित्र क्यामेरा पठाएर अवस्थाबारे जानकारी लिने तथा अक्सिजन सुरुङभित्र पठाउने प्रयास भइरहेको बताइएको छ।
ड्रिलिङ गरी बनाइएको प्वालमार्फत अक्सिजन तथा आवश्यक उपकरण सुरुङभित्र पठाउने प्रयास भइरहेको हो। सुरुङभित्र रहेका व्यक्तिको अवस्थाबारे जानकारी लिन र उद्धारको सम्भावना बढाउन यो प्रयास महत्वपूर्ण मानिएको छ।
उद्धार टोलीले सुरुङमा थुप्रिएको लेदो तथा माटो हटाउँदै उद्धारका लागि बाटो खोल्ने कामलाई पनि निरन्तरता दिइरहेको छ।
प्रतिकूल मौसम र चुनौतीपूर्ण भौगोलिक अवस्थाका बीच प्राविधिक तथा सुरक्षाकर्मीको टोलीले उद्धार कार्य जारी राखेको छ।
