
मानव अधिकार आयोगबाहिर धर्न बसेका लघुवित्त पीडित खाना खाँदै। तस्बीर: नेपाल फोटो लाइब्रेरी।
ललितपुर। सर्लाही, धनुषासहित मधेशका विभिन्न जिल्लाबाट २३ दिन पैदलयात्रा गरेर काठमाडौं आइपुगेका लघुवित्त पीडितहरू ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानव अधिकार आयोगबाहिर धर्नामा बसेका छन्।
पीडितहरूले गत शुक्रबार आयोगमा ध्यानाकर्षण पत्र बुझाएर धर्ना सुरू गरेका हुन्। आफ्ना माग पूरा नभएसम्म धर्ना जारी राख्ने उनीहरूले बताएका छन्।
धर्नामा बसेका पीडितलाई अहिले नेपाल तान्त्रिक झाँक्री संघले खाना खुवाइरहेको छ। फुको चिउरा खाएर धर्नामा बसिरहेका पीडितका लागि उक्त संस्थाले शनिबार बिहानदेखि काठमाडौंको माकलबारीमा खाना पकाएर पुल्चोकमा ल्याई वितरण गरिरहेको जनाएको छ।
पीडितहरूले लघुवित्त संस्थासम्बन्धी आफ्ना समस्या समाधान गर्न सरकार तथा सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग गर्दै आएका छन्।

