Nepal Purbadhar

त्रिशूली-३ ‘बी’ आयोजनामा उद्धार प्रयास जारी, हेलिकप्टरबाट थप उद्धार टोली घटनास्थलतर्फ


काठमाडौं । प्रतिकूल मौसम र चुनौतीपूर्ण परिस्थितिका बीच रसुवास्थित त्रिशूली-३ ‘बी’ जलविद्युत् आयोजनाको साइटको रेकी, रेखाङ्कन तथा उद्धार कार्य अघि बढाउन निरन्तर प्रयास भइरहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले बताएका छन्।

मन्त्री श्रेष्ठका अनुसार साइटको अवस्था बुझ्न र उद्धारका लागि सुरुदेखि नै खटिँदै आएको बिनु कुमार बरालसहितको टोली थप हेलिकप्टरमार्फत केही बेरअघि घटनास्थलतर्फ प्रस्थान गरेको छ।

प्रतिकूल मौसमका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि सम्भव भएसम्म सुरक्षित र प्रभावकारी रूपमा काम अघि बढाउन सुरक्षा निकायबीच निरन्तर समन्वय भइरहेको उनले बताए।

उद्धारका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ तथा त्रिशूली-३ ‘बी’ आयोजनाका कार्यकारी निर्देशक आनन्द ढुंगेलले आवश्यक समन्वय गरिरहेको मन्त्री श्रेष्ठले जानकारी दिए।

उनले उद्धार तथा पुनःस्थापनामा खटिएका प्राविधिक, कर्मचारी, सुरक्षाकर्मी तथा सम्बन्धित सबैको प्रयासप्रति सम्मान व्यक्त गर्दै सम्पर्कविहीन आफन्तको प्रतीक्षामा रहेका परिवारप्रति सहानुभूति व्यक्त गरेका छन्।


Read Previous

भोटेकोशी बाढीपछि सम्पर्कविहीन रुकुम पूर्वका १७ मध्ये १३ जना सम्पर्कमा

Read Next

बाढी प्रभावित क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोग बढ्दै, १७ करोड ३६ लाख डलरभन्दा बढी वित्तीय सहायता प्रस्ताव

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar