
काठमाडौं। रसुवा, नुवाकोट, धादिङलगायत बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार तथा पुनःस्थापनाका लागि अन्तर्राष्ट्रिय दाता, संयुक्त राष्ट्रसंघीय निकाय तथा गैरसरकारी संस्थाबाट ठूलो मात्रामा सहयोग परिचालन भइरहेको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ रुपैयाँ जम्मा भएको विवरण अर्थमन्त्रीको सचिवालयले देखाएको छ। विपद्पछि मात्रै नेपाली संघसंस्था तथा व्याक्तिगत रूपमा समेत गरि कोषमा ४ अर्ब ३८ करोड ८ लाख ५२ हजार २५२ रुपैयाँ संकलन भएको छ।
बैंकगत विवरण यस्तो छ :
| बैंक | २०८३ जेठ १२ गतेसम्म रकम |
| राष्ट्रिय वाणिज्य बैंक | ३ अर्ब २७ करोड ९९ लाख २ हजार ३३५ |
| एभरेस्ट बैंक | १ अर्ब ९५ करोड २७ लाख १८ हजार १५५ |
| स्ट्यान्डर्ड चार्टर्ड बैंक | ३० करोड ६२ लाख ८८ हजार ७५० |
| हिमालयन बैंक | २३ करोड १७ लाख १४ हजार ९५३ |
| नबिल बैंक | १६ करोड ४ लाख ७७ हजार ८ |
| ग्लोबल आइएमई बैंक | १३ करोड १ लाख ८० हजार |
| कृषि विकास बैंक | ९ करोड ५२ लाख ६२ हजार ७१५ |
| नेपाल बैंक | ९ करोड २३ लाख ८८ हजार ६१४ |
| लक्ष्मी सनराइज बैंक | ३ करोड ८ लाख ५८ हजार ७५१ |
| कुल | ६ अर्ब ५५ करोड ३३ लाख ६२ हजार ११ |
यस्तै, कोषमा ६ लाख ८० हजार ६१८ अमेरिकी डलर समेत जम्मा भएको विवरणमा उल्लेख छ।
सहायता कति पुग्यो ?
उपलब्ध विवरणलाई हेर्दा बाढी प्रभावित क्षेत्रमा प्रत्यक्ष राहत सामग्रीका रूपमा कम्तीमा १,७५० ओटा/सेट गैरखाद्य सामग्री, ४०० ओटा हाइजिन किट, २ हजार ओटा एक्वा ट्याब्लेट/स्ट्रिप, १४० डिग्निटी किट, २७ टेन्ट, १०० सहायक उपकरण र ७ जेनेरेटरको परिमाण स्पष्ट रूपमा उल्लेख छ। यसबाहेक ३० ओटा बेली ब्रिज, २ हजार शव राख्ने एयरटाइट ब्याग, ५०० परिवारका लागि खाद्यान्न तथा पारिवारिक टेन्ट र अन्य उद्धार सामग्री सहयोगमा छन्।
तर सबै संस्थाले सामग्रीको परिमाण खुलाएका छैनन् र केही सामग्री मौज्दात, तयारी वा बाटोमा रहेको अवस्थामा छन्। त्यसैले माथिको परिमाणलाई सबै अन्तर्राष्ट्रिय सहायता सामग्रीको अन्तिम कुल संख्या मान्न मिल्दैन।
