
काठमाडौं। नेपाल टेलिकमले बाढीका कारण प्रभावित बनेका रसुवाका दुई दूरसञ्चार साइट पुनः सञ्चालनमा ल्याएको छ। कम्पनीले रसुवाको त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावर तथा तुप्चे बीटीएस सञ्चालनमा ल्याएपछि प्रभावित क्षेत्रमा सञ्चार सेवा थप सहज भएको छ।
त्रिशूली थ्रीए जलविद्युत आयोजनासँगै रहेको टावर पुनः सञ्चालनमा आएपछि आयोजनाको सुरुङ मार्गमा भइरहेको उद्धार कार्यका लागि आवश्यक सञ्चार सम्पर्क सहज हुने भएको छ।
टावर सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धन कम्पनीकै सवारी साधनबाट तथा झन्डै एक घण्टाको दूरीसम्म मानव ढुवानीमार्फत साइटमा पुर्याइएको थियो। त्यसपछि नेपाल टेलिकमका प्राविधिकले आवश्यक प्राविधिक परीक्षण गरी टावर सञ्चालनमा ल्याएका हुन्।

यसैगरी रसुवा जिल्लाकै तुप्चे बीटीएस पनि आजदेखि सञ्चालनमा आएको टेलिकमले जनाएको छ। उक्त साइट सञ्चालनका लागि आवश्यक जेनेरेटर र इन्धनसहित प्राविधिक टोली त्रिशूलीबाट हेलिकप्टरमार्फत साइटमा पुगेको थियो।
तुप्चे बीटीएस सञ्चालनमा आएपछि त्रिशूली थ्रीबी जलविद्युत आयोजना क्षेत्र आसपास, बेत्रावती तथा कालिकास्थानका केही भागमा दूरसञ्चार सेवा पुनः सुचारु भएको छ।
बाढीका कारण रसुवा, नुवाकोटलगायतका क्षेत्रमा दूरसञ्चार पूर्वाधारमा क्षति पुगेपछि नेपाल टेलिकमले प्रभावित साइटहरू मर्मत तथा वैकल्पिक माध्यमबाट सेवा पुनः सञ्चालन गर्ने कामलाई तीव्रता दिँदै आएको छ।
