Nepal Purbadhar

संस्कृति र पर्यटन विकासमा विशेष जोड: लुम्बिनी, जनकपुर र हिमाली पर्यटन प्रवर्द्धन, नयाँ कोरिडोर विकास


काठमाडौं। सरकारले आगामी आर्थिक वर्षमा संस्कृति तथा पर्यटन क्षेत्रको विकासलाई प्राथमिकतामा राख्दै ऐतिहासिक सम्पदा संरक्षण, धार्मिक पर्यटन प्रवर्द्धन र हिमाली पर्यटन विस्तारका कार्यक्रम अघि सारेको छ।

सरकारले लुम्बिनी अन्तर्गत तिलौराकोट, देवदह, कपिलवस्तु र रामग्रामको बृहत पूर्वाधार विकास गर्ने भएको छ। बृहत लुम्बिनी विकास कार्यक्रमका लागि रु ८३ करोड विनियोजन गरिएको छ।

त्यस्तै जनकपुरधाम लाई विवाह गन्तव्यका रूपमा ब्रान्डिङ गर्ने योजना सरकारले अघि सारेको छ। रामजानकी पथ र रामजानकी परिक्रमा सडक स्तरोन्नतिका लागि बजेट छुट्याइएको छ।

हिमाली तथा पहाडी पर्यटन प्रवर्द्धनका लागि हिल स्टेसन विकास, पदयात्री तथा हिमाल आरोहीको सुरक्षा र आकस्मिक उद्धार सेवामा सुधार गरिनेछ। मुस्ताङ र मनाङका २०० वर्षभन्दा पुराना करिब दुई दर्जन बौद्ध गुम्बा संरक्षणका लागि विशेष परियोजना सञ्चालन गरिनेछ।

सरकारले तिलौराकोट, जनकपुरधाम र गोकर्णेश्वर लाई विश्व सम्पदा सूचीमा समावेश गराउन पहल गर्ने भएको छ।

पर्यटन प्रवर्द्धनका लागि खप्तड–बडिमालिका–शुक्लाफाँटा, काँक्रेविहार–रारा, देवघाट–मुक्तिनाथ–तिलिचो लगायतका प्रादेशिक पर्यटकीय कोरिडोर विकास गरिनेछ। साथै ग्रेट हिमालयन ट्रेलसहित नयाँ उच्च पहाडी पदमार्गलाई रणनीतिक पर्यटन मार्गका रूपमा विस्तार गरिनेछ।

खप्तड–रामारोशन–मुक्तिनाथलाई जोड्ने “डाँफे रूट” नामक उच्च पहाडी पर्यावरणीय पदमार्ग विकास गर्ने योजना पनि समावेश छ। अपि हिमाल, मनाङ, पाथिभरा लगायत क्षेत्रमा नयाँ ट्रेकिङ रुट तथा साइकल ट्रेल विकास गरिनेछ।

आदिवासी जनजाति संस्कृति संरक्षणका लागि संग्रहालय विस्तार गरिनेछ भने दलित समुदायको मौलिक सीप तथा परम्परागत पेशा प्रवर्द्धनका लागि मधेश, कर्णाली र सुदूरपश्चिममा नमूना होमस्टे सञ्चालन गरिनेछ।

छ हजार मिटरभन्दा माथिका नामकरण नभएका हिमालहरूको मौलिक नामकरण गरी अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने योजना पनि सरकारले अघि सारेको छ।


Read Previous

कृषि क्षेत्र सुधारका लागि ४६ अर्ब ९२ करोड बजेट, मल आपूर्ति, भूमि बैंक र कृषि आधुनिकीकरणमा जोड

Read Next

‍उड्डयन सुधार योजना: त्रिभुवन विमानस्थल स्तरोन्नति, निजगढ मोडालिटी टुंग्याइने, २ अर्ब ९३ करोड बजेट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar