
तस्बीर: नेपाल फोटो लाइब्रेरी।
काठमाडौं। नेपाल आयल निगमले एलपी ग्यासको आपूर्ति सहज बनाउन आज आइतबार काठमाडौं उपत्यकाका ७ ओटा स्थानबाट ग्यास सिलिन्डर बिक्री–वितरण गर्दैछ। नियमित बिक्रेताबाट ग्यास प्राप्त गर्न नसकेका तथा अत्यावश्यक अवस्थामा रहेका उपभोक्तालाई लक्षित गरी बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म ग्यास बिक्री गर्ने व्यवस्था गरिएको हो।
निगमका अनुसार टेकुस्थित निगम परिसरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीराम र सगर ब्रान्डका ग्यास बिक्री हुँदैछ। पशु सेवा शाखा, चपली–बूढानीलकण्ठबाट नेपाल, एचपी र भानु ब्रान्डका सिलिन्डर उपलब्ध हुनेछन्।
त्यस्तै, राधास्वामी परिसर, कीर्तिपुरबाट नेपाल, एचपी, एभरेस्ट/सुगम, श्रीकृष्ण, साइबाबा र श्रीमाया ब्रान्डका ग्यास बिक्री गरिँदैछ। नयाँ बजारस्थित जुडो हल परिसरबाट नेपाल, एचपी र ओम तथा तारकेश्वर नगरपालिका परिसरबाट नेपाल र एचपी ब्रान्डका ग्यास उपलब्ध हुनेछन्।
यसैगरी चन्द्रागिरि नगरपालिका कार्यालयबाट लोकप्रिय, नेपाल, एचपी र श्रीमाया तथा राष्ट्रिय क्षयरोग केन्द्र, ठिमीबाट नेपाल, एचपी, सूर्य, सगर, एभरेस्ट/सुगम र एसटीसी ब्रान्डका ग्यास बिक्री गरिने निगमले जनाएको छ।
निगमले ग्यास खरिद गर्न जाने उपभोक्ताले नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य रूपमा साथमा लैजानुपर्ने जनाएको छ। नियमित बिक्रेताबाट ग्यास नपाएका तथा अत्यावश्यक आवश्यकता भएका उपभोक्तालाई मात्र तोकिएका बिक्री केन्द्रमा जान निगमले आग्रह गरेको छ।
यसअघि शनिबार निगमले काठमाडौं उपत्यकाका ५ ओटा बिक्री केन्द्रबाट ६ हजार ८०२ सिलिन्डर एलपी ग्यास बिक्री गरेको थियो। केही ब्रान्डका सिलिन्डर अपुग भएपछि समयमै बिक्री केन्द्र पुगेका उपभोक्तालाई कुपनमार्फत अर्को दिन पहिलो प्राथमिकतामा राखेर ग्यास उपलब्ध गराउने व्यवस्था गरिएको थियो।
निगमले एलपी ग्यासको आयात नियमित रूपमा भइरहेको जनाएको छ। बजारमा सहज आपूर्ति कायम गर्न ग्यास उद्योग तथा व्यवसायीलाई आफ्ना विक्रेतामार्फत नियमित बिक्री–वितरण गर्नसमेत आग्रह गरिएको छ।

