
काठमाडौं। काठमाडौंको भृकुटीमण्डपमा जारी ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ आज सकिंदैछ। साउन २६ गतेदेखि ६ दिनका लागि सुरु भएको एक्स्पोको पाँचौँ दिनमै आयोजकले राखेको अवलोकनकर्ताको लक्ष्य पूरा भएको छ।
शनिबार मात्रै ४२ हजार जनाले एक्स्पो अवलोकन गरेका छन्। यससँगै पाँच दिनमा एक्स्पो अवलोकन गर्नेको संख्या १ लाख ५० हजार नाघेको छ। नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा)ले ६ दिनमा १ लाख ५० हजार जनाले एक्स्पो अवलोकन गर्ने लक्ष्य राखेको थियो।
शनिबार अवलोकनकर्ताको भीड अनपेक्षित रूपमा बढेपछि पार्किङ व्यवस्थापनमा समेत आयोजकलाई कठिनाइ भएको थियो। भृकुटीमण्डपभित्रका खाली स्थान, नेपाल पुलिस क्लबको दुई तला तथा खाद्य गोदाम ग्राउन्डलगायतका स्थानमा पार्किङको व्यवस्था गरिएको थियो। तर, ठूलो संख्यामा सवारीसाधन आएपछि पार्किङ व्यवस्थापन चुनौतीपूर्ण बनेको थियो।
पटक–पटक भइरहेको भारी वर्षालाई बेवास्ता गर्दै अवलोकनकर्ता एक्स्पो स्थल पुगेका थिए। काठमाडौं सुनचाँदी व्यवसायी संघका सचिव लेखरत्न शाक्यले वर्षाका कारण केही समय समस्या भए पनि एक्स्पोमा निकै ठूलो भीड रहेको बताए।
‘पानीले निकैबेर डिस्टर्ब गर्यो। यहाँ आइपुग्दा खुट्टा टेक्नै नपाउने गरी भीड लागेको रहेछ। मैले पनि एउटा स्कुटर बुक गरेँ,’ उनले भने।
उनीसँगै आएका संघका सह–सचिव अभिषेक शाक्यले पनि विगतका एक्स्पोको तुलनामा यसपटक धेरै मानिस सहभागी भएको बताए।
अटो सो प्लानिङ कमिटीका अध्यक्ष गौरव शारडाले अवलोकनकर्ताको उल्लेख्य सहभागिताले उत्साहित बनाएको बताए।
‘मेला पूर्णरूपमा सफल भयो भन्नका लागि अन्तिम दिनसम्म कुर्नै परेन। हाम्रो लक्ष्य पूरा भइसकेको छ,’ उनले भने, ‘एक्स्पो अवलोकन गरेर भोलिको दिनलाई अझ विशेष बनाइदिन म सबैलाई आग्रह गर्छु।’
एक्स्पोको उद्घाटनका दिन साउन २६ गते २९ हजार, दोस्रो दिन २६ हजार, तेस्रो दिन २२ हजार र चौथो दिन ३१ हजारभन्दा बढीले एक्स्पो अवलोकन गरेका थिए। पाँचौँ दिन मात्रै ४२ हजार जनाले एक्स्पो भ्रमण गरेका हुन्।
एक्स्पोमा ५५ भन्दा बढी ब्रान्डका सवारीसाधन प्रदर्शनीमा राखिएका छन्। विभिन्न कम्पनीले नयाँ मोडलका सवारीसाधन सार्वजनिक गर्दै अवलोकनकर्तालाई आफ्ना स्टलमा आकर्षित गरिरहेका छन्।
हालसम्म एक्स्पोमा विभिन्न ब्रान्डले ५३ नयाँ मोडलका सवारीसाधन सार्वजनिक गरेका छन्। पाँचौँ दिन पनि लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी मोटरहब प्रालिले आर्कफक्स क्रसओभर सार्वजनिक गरेको थियो।
एक्स्पोमा विभिन्न ब्रान्डका सवारीसाधन उपलब्ध भएकाले अवलोकनकर्तालाई आफ्नो आवश्यकता र बजेटअनुसार सवारी छनोट गर्न सहज भएको छ। चारपाङ्ग्रेसँगै दुईपाङ्ग्रे सवारीसाधनका स्टलमा पनि उल्लेख्य भीड देखिएको छ।
विशेषगरी महँगा ब्रान्डका सवारीसाधनमा युवाको आकर्षण देखिएको छ। अवलोकनकर्ताले ब्याट्री क्षमता, मोटर, रेन्ज, बिक्रीपछिको सेवा, ब्याट्रीको वारेन्टी/ग्यारेन्टी र रिसेल भ्यालुलगायतका विषयमा बढी चासो राखेका छन्।
ग्राहक आकर्षित गर्न कम्पनीहरूले मूल्यमा छुट, एक वर्षको बिमा, एक वर्षको सवारी कर, निःशुल्क सर्भिसिङ तथा न्यून ब्याजदरमा कर्जालगायतका सुविधा उपलब्ध गराएका छन्।
एक्स्पोअन्तर्गत शनिबार ‘टेक्निकल ब्याट्री रिसाइकलिङ इन फ्युचर’ विषयमा छलफल भएको थियो। त्यसअघि शुक्रबार ‘टेक्निकल ब्याट्री रिसाइकलिङ एन्ड एथिकल ब्याटरी डिस्पोजल’ विषयमा छलफल गरिएको थियो।
बिहीबार ‘मोबिलाइजिङ मोबिलिटी थ्रु फाइनान्स एन्ड इन्स्योरेन्स’ विषयमा छलफल तथा अन्तर्क्रिया भएको थियो। बुधबार ‘मोबिलिटी : हिजो, आज र भोलि’ विषयमा संवाद गरिएको थियो।
एक्स्पोको पहिलो दिन ‘इन्भेस्टमेन्ट एन्ड फरेन डाइरेक्ट इन्भेस्टमेन्ट (एफडीआई) : मोबिलाइजिङ फ्युल फर इकोनोमिक ग्रोथ’ विषयमा छलफल भएको थियो।
एक्स्पो अवधिभर स्वदेशी तथा विदेशी विज्ञहरूको सहभागितामा ‘नाइमा मोबिलिटी संवाद’ सञ्चालन गरिएको छ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणालीलाई प्रवर्धन गर्ने उद्देश्यले आयोजना गरिएको दोस्रो संस्करणको एक्स्पो आज समापन हुँदैछ।
एक्स्पोमा स्वदेशी तथा बहुराष्ट्रिय सवारीसाधन निर्माता र आयातकर्ताको उल्लेख्य सहभागिता रहेको छ। नेपालमा पहिलोपटक प्रवेश गरेका ब्रान्डदेखि नयाँ मोडलका विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधन मुख्य आकर्षण बनेका छन्।
बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूले पनि सवारी खरिदका लागि विशेष अफर तथा सहुलियत कर्जा उपलब्ध गराएका छन्।

