Nepal Purbadhar

पाँच बुँदे निष्कर्षसहित कांग्रेस संस्थापन इतरपक्षको राष्ट्रिय सम्मेलन सकियो


ललितपुर। नेपाली कांग्रेसको संस्थापन इतरपक्षले आयोजना गरेको तीनदिने राष्ट्रिय सम्मेलन पाँच बुँदे निष्कर्षसहित सम्पन्न भएको छ।

पूर्वमहामन्त्री डा. शशाङ्क कोइरालाको संयोजकत्वमा साउन २९ गतेदेखि काठमाडौंमा सुरु भएको सम्मेलनले पार्टीको १५औँ महाधिवेशनदेखि राष्ट्रियता, धर्म-संस्कृति र संविधान संशोधनसम्मका विषय समेटेर निष्कर्ष सार्वजनिक गरेको हो।

सम्मेलनको पहिलो निष्कर्षमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामै १५औँ महाधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ।

दोस्रो बुँदामा मुलुक अप्ठ्यारो अवस्थामा रहेको भन्दै राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरिएको छ। २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर नेपाल फर्किएको प्रसंग उल्लेख गर्दै राष्ट्रिय तथा लोकतन्त्रवादी शक्तिसँग संवाद गरी राष्ट्रियता र लोकतन्त्रको सुदृढीकरणमा क्रियाशील रहने निष्कर्ष सम्मेलनले निकालेको छ।

तेस्रो बुँदामा नेपालको सनातन धर्म, संस्कृति र धार्मिक सहिष्णुतालाई राष्ट्रिय पहिचानसँग जोडिएको विषयका रूपमा अघि सारिएको छ। हिन्दू, बौद्ध, किरात तथा प्रकृतिपूजक धर्मलगायतका परम्पराको संरक्षण गर्दै सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता सम्मेलनले जनाएको छ।

त्यस्तै, चौथो बुँदामा जनअपेक्षाअनुसार वर्तमान संविधानमा आवश्यक संशोधन गर्ने विषय समेटिएको छ। संविधानमै व्यवस्था भएअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरी संविधान संशोधनको विषयलाई निकास दिने निष्कर्ष सम्मेलनले निकालेको छ।

सम्मेलनले पाँचौँ निष्कर्षका रूपमा सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जनसहित पारित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी समिति गठन गरेको छ। केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइँकेल सहयोगी रहने समिति गठन गरिएको छ।

सम्मेलनको समापन कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं निवर्तमान सभापति शेरबहादुर देउवा, सम्मेलन संयोजक डा. शशाङ्क कोइरालालगायतका नेताले सम्बोधन गरेका थिए।


Read Previous

यामाहा रेसिङको ‘हिमालय रोडिज’ सिजन ८ को प्रि-अडिसन सुरु हुँदै, पीआई राउन्डमा सिधै प्रवेश

Read Next

निजी क्षेत्रलाई ऊर्जाको पूर्ण साझेदार बनाउन नयाँ विद्युत् विधेयक ल्याउन इप्पानको माग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar