
काठमाडौं । देशमा विद्युत् खपत बढ्दै गएपछि पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै गएको पाइएको छ।
आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुन मसान्तसम्म पेट्रोलको खपत १० प्रतिशत र डिजेलको खपत ९.९ प्रतिशतले घटेको छ। विद्युतीय चुल्होको प्रयोग र सहरी क्षेत्रमा विद्युत् उपयोग बढेसँगै एलपी ग्यासको खपतसमेत घट्दै गएको देखिएको छ।
देशभर करिब ९९.१ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच पुगेको छ। सहरी क्षेत्रमा विद्युतीय उपकरणको प्रयोग बढेसँगै विद्युत् खपत निरन्तर वृद्धि भइरहेको सर्वेक्षणमा उल्लेख छ।
कर्णाली र सुदूरपश्चिमका केही गाउँपालिकाबाहेक देशका अधिकांश स्थानमा विद्युत् पहुँच पुगेको भए पनि गुणस्तरीय र भरपर्दो सेवा सुनिश्चित गर्नु अझै चुनौतीका रूपमा रहेको छ। सरकारले आगामी एक–दुई वर्षभित्र शतप्रतिशत घरधुरीमा विद्युत् सेवा पुर्याउने लक्ष्य राखेको छ।
सर्वेक्षणअनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशको कुल विद्युत् जडित क्षमता ४,१०५ मेगावाट पुगेको छ, जसमा ३,७९८ मेगावाट जलविद्युत् रहेको छ। यस अवधिमा भारततर्फ २,९१८ गिगावाट घण्टा विद्युत् निर्यात भएको छ।
त्यस्तै, आधारभूत खानेपानीको पहुँच ९७ प्रतिशत जनसंख्यामा पुगे पनि सुरक्षित खानेपानीको पहुँच भने २९ प्रतिशतमा मात्र सीमित रहेको छ।
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ भने योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन्। तीमध्ये वैदेशिक रोजगारीमा जाने श्रमिकको हिस्सा करिब ७५.९ प्रतिशत रहेको सर्वेक्षणमा उल्लेख छ।
