
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादव प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै। तस्बीर- फोटो लाइब्रेरी
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले भारतमा नेपाली चिया निर्यातमा देखिएको समस्या सहजीकरणतर्फ अघि बढिरहेको बताएकी छन्।
प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै मन्त्रीले वार्षिक करिब २ करोड ६१ लाख किलो चिया उत्पादन हुने र त्यसको ८० देखि ९० प्रतिशत भारतमा निर्यात हुने जानकारी दिइन्। पछिल्लो समय निर्यातमा देखिएका समस्या समाधानका लागि सरकार काम गरिरहेको उनले बताइन्।
मन्त्रीका अनुसार चिया निर्यात सहजीकरणका लागि मन्त्रालयले गत चैत ३० गते नै सम्बन्धित निकायलाई पत्राचार गरेको थियो। साथै चिया विकास बोर्डसँग वैशाख २८ गते छलफल गरी समस्या समाधानका उपायबारे छलफल गरिएको पनि उनले जानकारी दिइन्।
यसैगरी, भारतस्थित नेपाली राजदूतावासमार्फत सम्बन्धित भारतीय मन्त्रालयसँग पनि छलफल भइरहेको र नेपालबाट भारत हुँदै अन्य देशमा चिया निर्यात विस्तार गर्ने प्रयास भइरहेको मन्त्रीले बताइन्।
उहाँका अनुसार अर्थोडक्स चिया मुख्य रूपमा भारतमै निर्यात हुँदै आएको छ। उपभोग्य वस्तुको अधिकतम खुद्रा मूल्य निर्धारणको जिम्मा भन्सार विभागलाई दिइएको र गुणस्तर अनुगमन उपभोक्ता विभागले गर्दै आएको पनि उनले जानकारी दिइन्।
त्यस्तै, सर्वोच्च अदालतको आदेशअनुसार लुम्बिनी क्षेत्रका उद्योग स्थानान्तरणको काम अघि बढाइएको उनले बताइन्। विश्व सम्पदा सूचीमा सूचीकृत लुम्बिनी क्षेत्रको संरक्षणका लागि १५ किलोमिटर भित्र रहेका उद्योगहरू स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको उनको भनाइ छ।
