Nepal Purbadhar

सडक सञ्जाल ३६ हजार किलोमिटर नाघ्यो, ५६ प्रतिशत सडक कालोपत्रे


काठमाडौं । देशभर रणनीतिक तथा स्थानीय सडक सञ्जालको लम्बाइ ३६ हजार ८०६ किलोमिटर पुगेको छ। तीमध्ये २० हजार ४५६ किलोमिटर सडक कालोपत्रे गरिएको छ, जुन कुल सडक सञ्जालको करिब ५६ प्रतिशत हो।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुधबार प्रतिनिधिसभामा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार ७ हजार ६०२ किलोमिटर सडक ग्राभेल गरिएको छ भने ८ हजार ७४८ किलोमिटर सडक अझै कच्ची अवस्थामा रहेको छ।

पछिल्लो पाँच वर्षमा सडक सञ्जाल ३ हजार ५६२ किलोमिटरले विस्तार भएको सर्वेक्षणमा उल्लेख छ। २०७७ फागुनसम्म देशभर ३३ हजार २४४ किलोमिटर सडक निर्माण भएको थियो।

सार्वजनिक लगानी वृद्धि भएसँगै भौतिक पूर्वाधार क्षेत्रमा पनि विस्तार भइरहेको सरकारले जनाएको छ। संघीय सरकारबाट निर्माण भएका कालोपत्रे सडकको घनत्व अहिले १३८.७ मिटर प्रतिवर्ग किलोमिटर पुगेको छ।

आर्थिक सर्वेक्षणअनुसार हाल देशभर कुल १ लाख ४ हजार ९०६ किलोमिटर सडक विस्तार भइसकेको छ।


Read Previous

आर्थिक सर्वेक्षण: विद्युत् खपत बढेसँगै पेट्रोलियम पदार्थको खपत घट्दो

Read Next

वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिनेको सङ्ख्या घट्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar