Nepal Purbadhar

अर्थमन्त्रीद्वारा आर्थिक सर्वेक्षण २०८२–८३ संसदमा प्रस्तुत, अर्थतन्त्र ३.८५ प्रतिशतले विस्तार हुने अनुमान

अर्थमन्त्री स्वर्णिम वाग्ले सघीय संसदमा आर्थिक सर्वेक्षण २०८२–८३ प्रस्तुत गर्दै। तस्बीर : नेपाल फोटो लाइब्रेरी


काठमाडौँ । सरकारले चालु आर्थिक वर्ष २०८२–८३ को आर्थिक सर्वेक्षण संघीय संसद् समक्ष प्रस्तुत गरेको छ। संघीय सरकारका अर्थमन्त्री स्वर्णिम वाग्लले सार्वजनिक वित्त, मौद्रिक तथा बाह्य क्षेत्रको समग्र अवस्था समेटिएको उक्त सर्वेक्षणले वर्तमान आर्थिक, सामाजिक, पूर्वाधार तथा सुशासनको स्थितिको विस्तृत चित्र प्रस्तुत गरेको हुन।

संसदमा प्रस्तुत सर्वेक्षण अनुसार विश्व अर्थतन्त्रमा देखिएको अनिश्चितता, व्यापार अवरोध र मध्यपूर्वमा जारी द्वन्द्वका कारण सन् २०२६ मा विश्व आर्थिक वृद्धि ३.१ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ। यद्यपि प्रतिकूल विश्व परिवेशका बाबजुद नेपालको अर्थतन्त्र चालु आर्थिक वर्ष ३.८५ प्रतिशतले विस्तार हुने अनुमान गरिएको छ।

प्रदेशगत रूपमा बागमती र गण्डकी बाहेक अन्य प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान छ। चालु आर्थिक वर्षमा नेपालको अर्थतन्त्रको आकार करिब ६६ खर्ब रुपैयाँ पुग्ने तथा प्रतिव्यक्ति राष्ट्रिय आय १,५३५ अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ।

सर्वेक्षणअनुसार कूल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान २४ प्रतिशत र गैर-कृषि क्षेत्रको योगदान ७६ प्रतिशत रहने अनुमान छ। बागमती प्रदेशको योगदान सबैभन्दा बढी ३६.७ प्रतिशत रहने देखिएको छ। फागुनसम्म औसत उपभोक्ता मुद्रास्फीति २.१३ प्रतिशतमा सीमित रहेको उल्लेख गरिएको छ।

राजस्व र खर्चतर्फ संघीय राजस्व ३.२ प्रतिशतले बढेको छ भने संघीय खर्च १०.४ प्रतिशतले वृद्धि भए पनि पूँजीगत खर्च अपेक्षाअनुसार सुधार हुन नसकेको उल्लेख छ। सो अवधिमा आन्तरिक तथा बाह्य ऋण गरी ३ खर्ब रुपैयाँ सार्वजनिक ऋण परिचालन भएको छ। सरकारको वित्त सन्तुलन ५८ अर्ब र प्राथमिक सन्तुलन ९ अर्ब रुपैयाँ घाटामा रहेको छ।

२०८२ फागुनसम्म कुल सार्वजनिक ऋण २८ खर्ब ७८ अर्ब रुपैयाँ पुगेको छ, जुन कुल गार्हस्थ्य उत्पादनको ४३.६ प्रतिशत बराबर हो। सो अवधिमा व्यापार घाटा ११.२ प्रतिशतले बढेर १० खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ भने विप्रेषण आप्रवाह ३७.७ प्रतिशतले बढेर १४ खर्ब ५० अर्ब रुपैयाँ पुगेको छ।

शोधनान्तर स्थिति ६ खर्ब ५८ अर्ब र चालु खाता ५ खर्ब ५३ अर्ब रुपैयाँ बचतमा रहेको छ। विदेशी विनिमय सञ्चिति ३४ खर्ब १४ अर्ब रुपैयाँ पुगेर १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्थामा पुगेको छ।

बैंकिङ क्षेत्रमा निक्षेप १५.१ प्रतिशतले वृद्धि भए पनि निजी क्षेत्रतर्फ कर्जा प्रवाहको वृद्धि ६.७ प्रतिशतमा सीमित रहेको सर्वेक्षणमा उल्लेख छ। डिजिटल भुक्तानीतर्फ QR कारोबार १ खर्ब २५ अर्ब रुपैयाँ नाघेको छ।

कृषि क्षेत्रमा धान उत्पादन ४.२० प्रतिशतले घटेर ५७ लाख ५ हजार मेट्रिक टनमा सीमित भएको छ। सो अवधिमा १,५७० हेक्टर जमिनमा सिँचाइ विस्तार गरिएको छ भने ४० अर्ब ७० करोड रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ।

ऊर्जा क्षेत्रमा ४,१०५ मेगावाट जडित क्षमता पुगेको र ९९ प्रतिशत जनसंख्यामा विद्युत् पहुँच विस्तार भएको उल्लेख छ। सडक पूर्वाधारतर्फ १,०४,९०६ किलोमिटर सडकमध्ये २५,५५२ किलोमिटर कालोपत्रे भएको छ।

सामाजिक सूचकमा मानव विकास सूचकांक ०.६२२ पुगेको छ भने औसत आयु ७१.३ वर्ष पुगेको छ। मातृ मृत्युदर र बाल मृत्युदरमा सुधार आएको सर्वेक्षणमा उल्लेख छ। स्वास्थ्य बीमा, सामाजिक सुरक्षा भत्ता र सामाजिक सुरक्षा कोषमा करोडौँ नागरिक आबद्ध भएका छन्।

सरकारले समष्टिगत आर्थिक स्थायित्व र बाह्य क्षेत्र सुदृढ भए पनि न्यून आर्थिक वृद्धि, कमजोर पूँजीगत खर्च, बढ्दो व्यापार घाटा र जलवायु जोखिम प्रमुख चुनौतीका रूपमा रहेको जनाएको छ। उपलब्धिहरूलाई संस्थागत गर्दै नीति तथा बजेटमार्फत चुनौती सम्बोधन गरिने प्रतिबद्धता समेत मन्त्री वाग्लेले जनाए।


Read Previous

नेपाल संस्कृत विश्वविद्यालयका पदाधिकारी नियुक्ति प्रक्रिया शुरू, दरखास्त आह्वान

Read Next

भारतमा नेपाली चिया निर्यात सहजीकरणतर्फ अघि बढ्दैछ : उद्योगमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar