
काठमाडौं। नेपाल विद्युतीय व्यवसायी महासंघको आयोजनामा विद्युत, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय स्तरको बृहत् प्रदर्शनी “फिन इलेक्ट्रो–टेक २०२६” आयोजना हुने भएको छ। यो प्रदर्शनी २०८३ साल जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंको भृकुटीमण्डप प्रदर्शनी हलमा सञ्चालन हुने आयोजकले जनाएको छ।
नेपालमा जलविद्युत उत्पादन, विद्युत पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोग अपरिहार्य बन्दै गएको छ। बजारमा विद्युतीय सामग्रीको माग बढिरहेको अवस्थालाई ध्यानमा राख्दै उपभोक्ता, व्यवसायी तथा प्राविधिक क्षेत्रलाई नवीनतम प्रविधि, अन्तर्राष्ट्रिय मापदण्ड, सुरक्षा प्रणाली र ऊर्जा दक्ष समाधानबारे जानकारी गराउने उद्देश्यले यो प्रदर्शनी आयोजना गर्न लागिएको हो।
आयोजकका अनुसार यस प्रदर्शनीले नेपालमा विद्युतीय उद्योगको विकास, स्वदेशी उत्पादन प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक सञ्जाल विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै ऊर्जा, पूर्वाधार, स्मार्ट प्रविधि तथा दिगो विकाससँग सम्बन्धित नयाँ अवसरहरूको पहिचान गर्न पनि यसले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।
चार दिनसम्म सञ्चालन हुने यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाहरूको सहभागिता रहनेछ। प्रदर्शनीमा ट्रान्समिसन तथा वितरण सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, तार–केबल तथा कन्डक्टर, एलईडी बत्ती, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, स्वचालन प्रणाली, सूचना प्रविधि तथा आधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ।
अवलोकनकर्ताका लागि यो प्रदर्शनी आधुनिक प्रविधि, सुरक्षित तथा गुणस्तरीय सामग्री, ऊर्जा बचत समाधान तथा बजारमा उपलब्ध नयाँ उत्पादनबारे प्रत्यक्ष जानकारी प्राप्त गर्ने महत्वपूर्ण अवसर हुनेछ। उपभोक्ताले एउटै स्थानमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ब्रान्डका उत्पादन तुलना गर्न, प्राविधिक जानकारी लिन र नयाँ प्रविधिको अनुभव गर्न सक्ने व्यवस्था गरिएको छ।
त्यसैगरी प्रदर्शक कम्पनीहरूका लागि यो प्रदर्शनी ब्रान्ड प्रवर्द्धन, नयाँ उत्पादन सार्वजनिक, व्यवसायिक सञ्जाल विस्तार, सम्भावित ग्राहक तथा वितरकसँग प्रत्यक्ष सम्पर्क स्थापना तथा नेपाली बजारको सम्भावना अध्ययन गर्ने महत्वपूर्ण मञ्च बन्नेछ। नेपालसहित दक्षिण एसियाली बजारमा पहुँच विस्तार गर्न चाहने कम्पनीहरूका लागि समेत यो प्रदर्शनी महत्वपूर्ण अवसर हुने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रदर्शनीका सबै स्टल बुकिङ भइसकेका छन्।
“फिन इलेक्ट्रो–टेक २०२६” को शीर्षक प्रायोजकमा ट्रान्सवेल्ड ट्रान्सफर्मर (ट्रान्सवेल्ड नेपाल प्रा.लि.) रहेको छ भने पावर बाइमा ह्याभेल्स (ह्याभेल्स इन्डिया लिमिटेड), प्लेटिनम प्रायोजकमा जनता के.ई.आई. (जनता केबल इन्डस्ट्रिज प्रा.लि.) रहेका छन्। डायमण्ड प्रायोजकमा लेजर इन्डिया (लेजर इन्डिया प्राइभेट लिमिटेड) र ग्रेटहाइट इलेक्ट्रिकल्स (ग्रेटहाइट ग्लोबल प्रा.लि.) रहेका छन्।
त्यसैगरी गोल्ड प्रायोजकमा ब्रिलियन्ट एलईडी (एस.एम.सी. ग्लोबल प्रा.लि.) रहेको छ। आधिकारिक बैंकका रूपमा नविल बैंक लिमिटेड र आधिकारिक बीमा कम्पनीका रूपमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड रहेका छन्। आधिकारिक क्यारियरमा एस.के.बी ग्रुप, प्रविधि साझेदारमा जुलाई टेक ल्याब्स र इन्टरनेट साझेदारमा सजिलो नेट रहेका छन्। प्रदर्शनीको व्यवस्थापन मिडिया स्पेसले गरिरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत विभिन्न सरोकारवाला संस्थाको सहयोग तथा सहभागितामा हुने यस प्रदर्शनीमा देश तथा विदेशबाट उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी, सञ्चारकर्मी तथा सर्वसाधारण गरी हजारौं आगन्तुकको सहभागिता रहने अपेक्षा गरिएको छ।

