
काठमाडौं । बाढी प्रभावित क्षेत्रमा राहत सामग्री पुर्याउन चीनले उपलब्ध गराएको ड्रोन त्रिशूली क्षेत्रमा परीक्षण तथा प्रयोगमा ल्याइएको छ। सडकमार्ग क्षतिग्रस्त भएका तथा हेलिकप्टरबाट समेत पहुँच कठिन भएका स्थानमा खाद्यान्न तथा अन्य राहत सामग्री ढुवानी गर्न ड्रोन प्रयोग गर्न लागिएको हो।

चीन सरकारले नेपाललाई बाढी प्रभावित क्षेत्रमा राहत सामग्री ढुवानीका लागि ४ ओटा ड्रोन उपलब्ध गराएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनका अनुसार यी ड्रोनको अधिकतम क्षमता १०० किलोग्राम रहेको छ। एकपटकको उडानमा करिब ७५ देखि ८० किलोग्रामसम्म राहत सामग्री बोक्न सक्ने उनले बताए।

त्रिशूली क्षेत्रमा ड्रोनको परीक्षण तथा प्रयोगपछि यसलाई रसुवालगायत बाढी प्रभावित क्षेत्रमा परिचालन गर्ने तयारी गरिएको छ।
बाढीका कारण सडक तथा पुलमा क्षति पुगेपछि कतिपय प्रभावित बस्तीमा स्थलमार्गबाट राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। यस्तो अवस्थामा ड्रोनमार्फत आवश्यक खाद्यान्न तथा अन्य राहत सामग्री तत्काल प्रभावित क्षेत्रमा
पुर्याउन सहज हुने अपेक्षा गरिएको छ।
ठूलो परिमाणमा सामग्री बोक्न सक्ने ड्रोनको प्रयोगले दुर्गम तथा सडक सम्पर्क विच्छेद भएका क्षेत्रमा राहत वितरणलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी
