Nepal Purbadhar

११ दिनपछि जीवितै भेटिएकी ६० वर्षिया चण्डिका, बाढीले घरसहित बगाएर पुर्‍याएको थियो ५० मिटर पर


काठमाडौं। नुवाकोटको बेत्रावतीमा बाढीले घरसहित बगाएकी चन्डिका श्रेष्ठ ११ दिनपछि जीवितै भेटिएकी छन्। बाढीले बगाएको घरभित्रबाट प्रहरीले उनको उद्धार गरेको हो।

स्थानीयका अनुसार चन्डिकाको घर बाढीले बगाएर उनको घर रहेको स्थानभन्दा करिब ५० मिटर पर पुर्‍याएको थियो। त्यही घरबाट शनिबार उनको उद्धार गरिएको हो।

विदुर नगरपालिकाका अनुसार बाढीले बगाएको संरचनाबाट मानिसको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

स्थानीय नारायणलाल डंगोलका अनुसार चन्डिकाको घर उनको घरभन्दा करिब ७० मिटर पछाडि थियो। बाढीले घरलाई बगाएर करिब ५० मिटर पर पुर्‍याएको उनले बताए।

उद्धारपछि चन्डिकालाई उपचारका लागि काठमाडौँको छाउनी अस्पताल ल्याइएको उनका देवरले जानकारी दिए। उनका श्रीमान् भने अझै सम्पर्कविहीन रहेको बताइएको छ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीपछि सुरुङमा मानिस फसेको आशंकामा खोजी भइरहेको अवस्थामा बाढीले बगाएका घरका संरचनाभित्र पनि मानिस फसेको हुनसक्ने देखिएको छ।

चन्डिका जीवितै भेटिएपछि बाढीले क्षति पुर्‍याएका तथा पल्टाएका अन्य घरका संरचनामा समेत खोजी गर्नुपर्ने देखिएको छ। रसुवागढीदेखि धादिङको गलौंदी क्षेत्रसम्म बाढीले घर तथा संरचनामा ठूलो क्षति पुर्‍याएको छ। कतिपय घर पुरिएका छन् भने कतिपय घर बाढीले पल्टाएको छ।

बाढी प्रभावित क्षेत्रमा अझै मानिस फसेको हुनसक्ने आशंकामा खोज तथा उद्धार कार्य जारी रहेको गृहमन्त्री सुधन गुरुङले बताएका छन्।

यसअघि शनिबार नै नेपाली सेनाले अपर त्रिशूली-१ को सुरुङबाट एक चिनियाँ नागरिकको उद्धार गरेको थियो। त्यस्तै, शुक्रबार त्रिशूली-३ ‘ए’ को सुरुङबाट दुई जनाको जीवितै उद्धार गरिएको थियो।


Read Previous

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, पहुँच सडक निर्माण सुरू

Read Next

चिलिमेको सुरुङमा उद्धार प्रयास जारी, १०० मिटर भाग सफा अझै १५० मिटर बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar