Nepal Purbadhar

भोटेकोशी बाढीः एक हजार ३० शवको सुरक्षित व्यवस्थापन

नारायणी किनारबाट शव संकलन गर्दै सुरक्षाकर्मी, फाईल तस्बीर।


काठमाडौं। भोटेकोशी बाढीपछि विभिन्न जिल्लामा फेला परेका एक हजार ३४४ शवमध्ये एक हजार ३० शव सुरक्षित रूपमा जमिनमुनि व्यवस्थापन गरिएको छ।

नेपाल प्रहरीले दिएको जानकारीअनुसार व्यवस्थापन गरिएका शवमध्ये २२२ महिला, ३५५ पुरुष र ४५३ संवेदनशील अवस्थामा रहेका तथा पहिचान खुल्न नसकेका शव छन्।

शवको पहिचानका लागि मृतकका एक हजार २६० र आफन्तका एक हजार १२ ओटा डिएनए नमूना सङ्कलन गरिएको केन्द्रीय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले जानकारी दिए। डिएनएसहित आवश्यक विवरण सङ्कलन गरेपछि ‘पहिचान नभएका तथा बेवारिसे शव व्यवस्थापन (पहिलो संशोधन) निर्देशिका, २०८३’ अनुसार शवलाई जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको उनले बताए।

शव व्यवस्थापनका क्रममा प्रत्येक शवलाई छुट्टाछुट्टै सङ्केत तथा कोड नम्बर दिइएको छ। सो कोड नम्बर जमिनमुनि र माथि समेत राखिएको प्रहरीले जनाएको छ। शव व्यवस्थापन गरिएको स्थानको जीपीएस लोकेशन, फोटो, नक्सासहितको विस्तृत विवरण तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण अभिलेखसमेत सुरक्षित राखिएको छ।

जमिनमुनि व्यवस्थापन गरिएका प्रत्येक शवको फोटो, डिएनए नमूना, सङ्केत नम्बर, हुलिया, सनाखतसम्बन्धी विवरण, शव परीक्षण प्रतिवेदन, मुचुल्का, व्यवस्थापन मिति र स्थानको विवरण सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

भविष्यमा कुनै परिवार वा आफन्तले व्यवस्थापन गरिएका शवमध्ये आफ्नो सदस्य भएको दाबी गरेमा उपलब्ध वैज्ञानिक तथा कानुनी प्रमाणका आधारमा पहिचान गरी शव परिवारलाई हस्तान्तरण गरिने प्रवक्ता काफ्लेले बताए।

प्रहरीका अनुसार पहिचान नभएका एक हजार २७० शवको विवरण नेपाल प्रहरीको वेबसाइटमा अपलोड गरिएको छ। आज बिहानसम्म बाढीमा परी मृत्यु भएका एक हजार ३४४ जनाको शव विभिन्न जिल्लामा फेला परेको छ।

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार, राहत वितरण तथा शव व्यवस्थापनलगायतका काममा हालसम्म सात हजार ९१२ प्रहरी कर्मचारी परिचालन गरिएको प्रहरीले जनाएको छ।

यस्तै, बाढीमा परी बेपत्ता भएका चार हजार ८८६ जनाको खोजी भइरहेको छ। बाढीको जोखिममा रहेका तटीय क्षेत्रका परिवारलाई सुरक्षित स्थानमा सार्ने, विभिन्न निकाय तथा स्थानीयवासीको समन्वयमा खोज तथा उद्धार गर्ने र सडकमा रहेका अवरोध हटाउने कामसमेत भइरहेको प्रहरीले जनाएको छ।


Read Previous

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन त्रिशूलीमा चिनियाँ ड्रोनको प्रयोग- तस्बीर सहित

Read Next

चिलिमे, रसुवागढी र त्रिशूली-३बी हबमा उद्धार सहजिकरणका लागि प्राधिकरणका तीन डेस्क सक्रिय

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar