Nepal Purbadhar

चिलिमे जलविद्युत् आयोजनामा उद्धार प्रयास जारी, पहुँच सडक निर्माण सुरू


काठमाडौं। चिलिमे जलविद्युत् आयोजनामा सुरुङभित्र फसेकाको उद्धारका लागि प्रयास निरन्तर जारी रहेको छ। भौगोलिक विकटता, प्रतिकूल मौसम तथा सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण आवश्यक जनशक्ति, सामग्री र उपकरण घटनास्थलसम्म पुर्‍याउन चुनौती भइरहेको छ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्रै म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन्। २५० मिटर लामो सुरुङमध्ये हालसम्म करिब १०० मिटर भाग सफा गरिएको छ।

म्यानुअल रूपमा मात्र उद्धार सम्भव नहुने भएकाले ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउनु आवश्यक रहेको उद्धार टोलीले जनाएको छ। एक्स्काभेटर पुर्‍याउन स्याफ्रुदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण गर्नुपर्ने भएकाले आजदेखि सडक निर्माणको काम सुरू गरिएको छ।

यसैगरी, सुरुङमार्फत एक्स्काभेटर लैजाने विकल्पमा समेत काम भइरहेको छ। त्यसका लागि सुरुङभित्र रहेको करिब १०० मिटर माटो तथा भग्नावशेष हटाउने कार्य जारी छ।

ठूला हेलिकोप्टर अवतरण गर्न सम्भव नभएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउने प्रयाससमेत भइरहेको छ।

उद्धार कार्यमा चुनौती रहे पनि प्रयास नरोकिएको जनाइएको छ। पहुँच विस्तार, आवश्यक उपकरण परिचालन तथा सुरुङभित्रको भग्नावशेष हटाउने कामलाई उच्च प्राथमिकताका साथ निरन्तर अघि बढाइएको छ।


Read Previous

बाढीमा पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार

Read Next

११ दिनपछि जीवितै भेटिएकी ६० वर्षिया चण्डिका, बाढीले घरसहित बगाएर पुर्‍याएको थियो ५० मिटर पर

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar