
यो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ भने यसमार्फत करिब ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ । सांकेतिक तस्बीर।
काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले काठमाडौंको मध्यभागमा १३२ केभी क्षमताको भूमिगत प्रसारण लाइन निर्माण गर्ने भएको छ । चक्रपथभित्र सहज रूपमा विद्युत् आपूर्ति सुनिश्चित गर्ने लक्ष्यसहित यो आयोजना अघि बढाइएको हो ।
सहरको विद्युत् खपत बढाउने र शहरी सौन्दर्य अभिवृद्धि गर्ने उद्देश्यका साथ भूमिगत प्रसारण लाइन निर्माण गर्न लागिएको प्राधिकरणले जनाएको छ ।
प्रस्तावअनुसार यो प्रसारण लाइन बालाजु, महाराजगञ्ज, राजदरबार, रत्नपार्क हुँदै सिंहदरबारसम्म जोडिनेछ । बालाजु सबस्टेशनदेखि सिंहदरबारसम्मको कुल लम्बाइ ११.९२ किलोमिटर रहनेछ ।
यो डबल सर्किट भूमिगत प्रसारण लाइन तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । साथै महाराजगञ्जमा १३२/११ केभी, राजदरबारमा १३२/११ केभी, रत्नपार्कमा १३२/११ केभी तथा सिंहदरबारमा १३२/६६/११ केभी क्षमताका सबस्टेशन निर्माण गरिनेछ ।
प्राधिकरणले उक्त प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि अनुमति लिन विद्युत् विकास विभागमा आवेदन दिएको छ ।
यो प्रसारण लाइनको क्षमता १३२ केभी बराबर रहनेछ भने यसमार्फत करिब ३५० मेगावाटसम्म विद्युत् प्रवाह गर्न सकिनेछ ।
आयोजनाअन्तर्गत २१ वटा ज्वाइन्ट पिट्स निर्माण गरिनेछ, जसको अधिकतम दूरी ५०० मिटर रहनेछ । कुल १.६२ हेक्टर जमिन आवश्यक पर्ने बताइएको छ ।
निर्माण तथा सञ्चालनका क्रममा विद्युत् ऐन, २०४९ अनुसार वातावरणमा भूक्षय, बाढी वा वायु प्रदूषणजस्ता असर नपर्ने गरी काम गर्नुपर्ने प्रावधान राखिएको छ ।
विद्युत् विकास विभागले आयोजनाबारे आवश्यक सुझाव तथा सल्लाह उपलब्ध गराउन सार्वजनिक सूचना जारी गरेको छ ।
यसअघि पनि प्राधिकरणले रत्नपार्क–महाराजगञ्ज क्षेत्रमा भूमिगत प्रसारण लाइन निर्माण गरिसकेको छ । काठमाडौं र ललितपुरका विभिन्न क्षेत्रमा यस्ता लाइन विस्तार भइरहेको छ भने पोखरा र भरतपुरमा पनि काम अन्तिम चरणमा पुगेको छ ।
तर, समयमा काम सम्पन्न नहुँदा अपेक्षित परिणाम प्राप्त हुन नसकेको प्राधिकरणले जनाएको छ ।

