Nepal Purbadhar

सञ्चारमन्त्री र कोरियाली राजदूतको भेट, एआई र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारबारे छलफल


काठमाडौं। सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क जे-क्युङले शिष्टाचार भेटवार्ता गरेका छन्।

सूचना तथा सञ्चार मन्त्रालयमा भएको भेटमा नेपाल-कोरिया सम्बन्ध, भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, पुनःस्थापना तथा मानवीय सहायताका विषयमा छलफल भएको छ। साथै सूचना प्रविधि, डिजिटल अर्थतन्त्र र कृत्रिम बौद्धिकता (एआई) का क्षेत्रमा दुई देशबीच सहकार्य विस्तार गर्ने विषयमा पनि कुराकानी भएको छ।

भेटमा सञ्चारमन्त्री डा. तिमिल्सिनाले भोटेकोशी नदीमा आएको बाढीबाट सिर्जित विपद्का समयमा नेपाललाई कोरियाबाट प्राप्त सहयोग र सहानुभूतिप्रति आभार व्यक्त गरे।

उनले उद्धार तथा खोजी कार्यमा सहयोग गर्न कोरियाले विपद् राहत टोली पठाएकोमा विशेष धन्यवाद दिँदै बाढी प्रभावित नागरिकका लागि मानवीय सहायता तथा पुनःनिर्माण र पुनःस्थापनामा थप सहयोग गर्ने कोरियाली सरकारको प्रतिबद्धताप्रति पनि आभार व्यक्त गरे।

नेपाल र कोरियाबीच मित्रता, पारस्परिक सम्मान, समझदारी र सहकार्यमा आधारित सम्बन्ध रहेको उल्लेख गर्दै उनले आगामी दिनमा दुई देशबीचको सहकार्य थप विस्तार गर्नुपर्नेमा जोड दिए।

भेटमा राजदूत पार्कले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा पुनःस्थापनाका लागि कोरियाको सहयोग निरन्तर रहने बताए। उनले बाढीमा परेका कोरियाली नागरिकको अवस्थाबारे पनि चासो व्यक्त गरे।

राजदूत पार्कका अनुसार कोरियाली सुरक्षाकर्मीको टोलीले बाढीमा फसेका १० जना कोरियाली नागरिकको उद्धार गरेको छ। माथिल्लो त्रिशूली-१ आयोजना क्षेत्रमा रहेका नौ जना कोरियाली नागरिक भने अझै सम्पर्कविहीन रहेको उनले जानकारी दिए।

सो अवसरमा राजदूत पार्कले सेप्टेम्बर ३० देखि अक्टोबर १ सम्म दक्षिण कोरियामा आयोजना हुने १२औँ ग्लोबल आईसीटी लिडरसिप फोरमबारे पनि जानकारी दिए।

दक्षिण कोरियाको विज्ञान तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा तथा नेसनल इन्फरमेसन सोसाइटी एजेन्सीको संयोजनमा हुने फोरममा नेपालसहित विभिन्न देशका प्रतिनिधिबीच सूचना प्रविधि तथा कृत्रिम बौद्धिकताका क्षेत्रमा सहकार्य र आगामी रणनीतिबारे उच्चस्तरीय छलफल हुने राजदूत पार्कले बताए।


Read Previous

दशकपछि छेला औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार खुल्यो, अब निर्माण अघि बढ्ने

Read Next

कांग्रेस १५औँ महाधिवेशन: चितवनका ९८ वडामा असोज ३ र ४ गते अधिवेशन

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar