
काठमाडौं। चिलिमे, रसुवागढी तथा त्रिशूली-३बी हबमा भइरहेको उद्धार कार्यलाई सहयोग पुर्याउन नेपाल विद्युत् प्राधिकरणको प्रधान कार्यालयबाट तीन ओटा डेस्क टोली निरन्तर परिचालन गरिएको छ।
प्रधान कार्यालयमा रहेका डेस्क टोलीले वास्तविक समयको सूचना तथा अपडेट संकलन र आदान-प्रदान, फिल्डमा आवश्यक समन्वय, उद्धारका लागि आवश्यक सामग्रीको व्यवस्थापन तथा डिस्प्याचलगायतका काम गरिरहेका छन्।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञ, प्राधिकरणका पूर्व कर्मचारी तथा सम्बन्धित आयोजनाका प्राविधिक र परियोजना कर्मचारीसँग समेत निरन्तर समन्वय भइरहेको प्राधिकरणले जनाएको छ।
डेस्क टोलीले फिल्डमा रहेका उद्धार टोलीलाई आवश्यक प्राविधिक तथा व्यवस्थापकीय सहयोग उपलब्ध गराउँदै आएको छ। कठिन र संवेदनशील परिस्थितिमा प्रधान कार्यालयमै रहेर पनि चौबीसै घण्टा सक्रिय हुँदै उद्धार प्रयासमा सहयोग पुर्याइएको प्राधिकरणले जनाएको छ।
उद्धार कार्यमा खटिएका डेस्क टोली, प्राविधिक कर्मचारी, विज्ञ, पूर्व कर्मचारी तथा आयोजनाका कर्मचारीको निरन्तर समर्पण, समन्वय र सहयोगले उद्धार कार्यलाई थप प्रभावकारी बनाउन महत्वपूर्ण योगदान पुर्याएको प्राधिकरणले जनाएको छ।
