Nepal Purbadhar

कांग्रेस १५औँ महाधिवेशन: चितवनका ९८ वडामा असोज ३ र ४ गते अधिवेशन


भरतपुर। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत चितवनमा वडा अधिवेशन असोज ३ र ४ गते हुने भएको छ। जिल्लाका ९८ वटै वडामा हुने अधिवेशनमा २७ हजार ५ सय क्रियाशील सदस्य सहभागी हुने कांग्रेस चितवनले जनाएको छ।

केन्द्रीय कार्यतालिकाअनुसार नै अधिवेशनका कार्यक्रम अघि बढाइएको कांग्रेस चितवनले शुक्रबार भरतपुरमा पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालका अनुसार ९८ वडामध्ये सम्बन्धित वडाको अनुकूलताअनुसार असोज ३ वा ४ गते वडा अधिवेशन सम्पन्न गरिनेछ। अधिवेशनमा युवा तथा महिलाको सहभागिता सुनिश्चित गरिने उनले बताए।

उनका अनुसार भूगोल, जातीय समुदाय तथा फरक क्षमता भएका व्यक्तिको समावेशी र समानुपातिक सहभागितालाई समेत प्राथमिकता दिइएको छ।

वडा अधिवेशनबाट चितवनमा ३ हजार १ सय क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन्। निर्वाचित क्षेत्रीय प्रतिनिधिले पालिका कार्यसमिति, प्रदेशसभा क्षेत्रीय कार्यसमिति, बागमती प्रदेश प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि, महासमिति सदस्य तथा जिल्ला कार्यसमिति चयन प्रक्रियामा सहभागिता जनाउनेछन्।

कांग्रेस चितवनका अनुसार असोज ७ गते पालिका अधिवेशन र असोज १० गते प्रदेशसभा तथा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन गर्ने कार्यतालिका तय भएको छ।

यससँगै चितवनमा कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्लो तहदेखि नेतृत्व चयन प्रक्रिया अघि बढ्नेछ।

तस्बिरहरु: नेपाल फोटो लाइब्रेरी


Read Previous

सञ्चारमन्त्री र कोरियाली राजदूतको भेट, एआई र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारबारे छलफल

Read Next

प्रधानमन्त्री शाहको जेन्जी पुस्ताका सांसदलाई आग्रह – ‘स्वदेशमै रोजगारी सिर्जना गर्न उदाहरण बन्नुहोस्’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar