Nepal Purbadhar

चिलिमेको सुरुङमा उद्धार प्रयास जारी, १०० मिटर भाग सफा अझै १५० मिटर बाँकी

सांकेतिक रूपमा प्रयोग गरिएको तस्बीर।


काठमाडौँ। चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धारका लागि नेपाली र भारतीय सेनाले प्रयास जारी राखेका छन्। २५० मिटर लामो सुरुङमध्ये करिब १०० मिटर भाग माटो तथा भग्नावशेष हटाएर सफा गरिएको छ।

हाल नेपाली सेना र भारतीय सेनाका २१ जना सुरुङभित्र प्रवेश गरी म्यानुअल रूपमा माटो तथा भारी भग्नावशेष हटाउने काममा खटिएका छन्।

भौगोलिक विकटता, प्रतिकूल मौसम र सडक सञ्जाल पूर्ण रूपमा विच्छेद भएका कारण उद्धारका लागि आवश्यक जनशक्ति, सामग्री तथा उपकरण घटनास्थलसम्म पुर्‍याउन कठिनाइ भइरहेको छ।

म्यानुअल रूपमा मात्रै उद्धार कार्य अघि बढाउन कठिन हुने भएपछि ठूलो एक्स्काभेटर घटनास्थलसम्म पुर्‍याउने तयारी भइरहेको छ। त्यसका लागि स्याफ्रुबेँसीदेखि पावरहाउस पोर्टलसम्म पहुँच सडक निर्माण सुरू गरिएको छ।

सुरुङभित्रैबाट एक्स्काभेटर लैजाने विकल्पमा समेत काम भइरहेको छ। त्यसका लागि सुरुङमा रहेको माटो तथा भग्नावशेष हटाउने कार्य जारी राखिएको छ।

घटनास्थलमा ठूला हेलिकोप्टर अवतरण गर्न नसकिने भएकाले साना हेलिकोप्टरमार्फत आवश्यक सामग्री तथा उपकरण पुर्‍याउने प्रयास पनि भइरहेको छ।

भौगोलिक अवस्था र पूर्वाधारको अभावका कारण उद्धार कार्य चुनौतीपूर्ण बने पनि खोज तथा उद्धार प्रयास नरोकिएको उद्धारमा खटिएको टोलीले जनाएको छ।

पहुँच सडक निर्माण, आवश्यक उपकरण घटनास्थलसम्म पुर्‍याउने तथा सुरुङ सफा गर्ने कामलाई उच्च प्राथमिकताका साथ अघि बढाइएको छ।


Read Previous

११ दिनपछि जीवितै भेटिएकी ६० वर्षिया चण्डिका, बाढीले घरसहित बगाएर पुर्‍याएको थियो ५० मिटर पर

Read Next

जीवितै उद्धार गरिएकी चन्डिकाको परिवारले काजकिरिया सुरू गरेको थियो: पिडितका सम्धी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar