Nepal Purbadhar

प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त, को हुन उनी ?


काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा दिर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् ।

सरकारका प्रवक्ता तथा शिक्षामन्त्री शस्मित पोखरेलका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिने निर्णय गरेको हो।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठकोले दिर्घायु कुमार श्रेष्ठलाइ प्राधिकरणको कार्यकारी निर्देशक बनाउन एकल सिफारिस गरेका थिए ।

सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश २०८३ बमोजिम प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्र देव शाक्य पदमुक्त भएका थिए । निमित्त कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठ नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले श्रेष्ठलाई निमित्त कार्यकारी निर्देशकको जिम्मेवारी दिएका थिए । बैशाख चौथो सातादेखि उनले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका छन् । निमित्तको जिम्मेवारी सम्हाल्नु अघि उनी वितरण तथा ग्राहक सेवा निर्देशनालयको प्रमुखका रुपमा कार्यरत थिए । असोजमा रिटार्यड हुन लागेका श्रेष्ठलाई सरकारले कार्यकारी निर्देशकको जिम्मेवारी दिन लागेको हो ।

लामो रस्साकस्सीपछि सरकारले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त गरेको हो । पाँच पटकसम्म प्रस्ताव लैजादा पनि निर्णय हुन सकेको थिएन । प्रधानमन्त्री कार्यालयले उनलाई जिम्म्मेवारी दिन मानेको थिएन । तर श्रेष्ठले प्रधानमन्त्री कार्यालयलाई मनाउन सफल भएपछि जिम्मेवारी पाएका हुन् ।

यस्तो छ श्रेष्ठको विगत ?

दिर्घायु कुमार श्रेष्ठ नेपाल विद्युत् प्राधिकरणका वरिष्ठ विद्युत् इन्जिनियर हुन्। उनले सन् १९९७ नोभेम्बरमा नेपाल विद्युत् प्राधिकरणको सेवामा प्रवेश गरेका थिए र विद्युत् उत्पादन, प्रसारण, वितरण तथा प्रणाली सञ्चालनका विभिन्न तहमा २८ वर्षभन्दा बढीको व्यावसायिक अनुभव हासिल गरेका छन्।

श्रेष्ठले सन् १९९६ मा भारतबाट इलेक्ट्रिकल इन्जिनियमा बिई गरेका छन् सन् २००५ मा त्रिभुवन विश्वविद्यालय, पुल्चोक क्याम्पसबाट इन्फर्मेशन एण्ड कम्युनिकेशन इन्जिनियरिङमा एमएस्सी गरेका छन् ।

उनको व्यावसायिक यात्रा नेपाल विद्युत् प्राधिकरणको लोड डिस्प्याच बाट भएको थियो । सन् १९९७ देखि २००५ सम्म प्रणाली सञ्चालनमा काम गरेपछि उनी काठमाडौं पूर्व वितरण केन्द्र, विभिन्न वितरण केन्द्र, हेटौंडा ग्रिड डिभिजन र कालीगण्डकी जलविद्युत् केन्द्रको प्रमुख हुँदै प्राधिकरणको नेतृत्व तहमा पुगेका थिए ।

त्यसपछि उनले प्राधिकरणका विभिन्न क्षेत्रीय तथा केन्द्रीय जिम्मेवारी सम्हाले। उनी अत्तरिया, हेटौंडा र काठमाडौं क्षेत्रीय कार्यालयका प्रमुख, त्यसपछि Grid Operation Department का प्रमुख बने। सन् २०२० डिसेम्बरदेखि अप्रिल २०२६ सम्म उनले प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक को जिम्मेवारी सम्हाले भने अप्रिल २०२५ देखि मे २०२६ सम्म वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक का रूपमा पनि काम गरे।

उनको अनुभव मुख्यतः विद्युत् उत्पादन, प्रसारण र वितरण प्रणालीको सञ्चालन तथा व्यवस्थापन, राष्ट्रिय विद्युत् पूर्वाधार विकास, ऊर्जा नीति, प्रणाली विश्वसनीयता, परियोजना व्यवस्थापन र संस्थागत सुधारसँग जोडिएको छ।

विशेषगरी उनको करियर हेर्दा विद्युत् प्रणालीको प्राविधिक तहबाट सुरु भएर वितरण, उत्पादन, ग्रिड सञ्चालन, प्रसारण र अन्ततः प्राधिकरणको उच्च व्यवस्थापकीय नेतृत्व तहसम्म पुगेको अनुभव उनको प्रमुख परिचय हो। ऊर्जा क्षेत्रका विभिन्न सरकारी निकाय, नियामक, अन्तर्राष्ट्रिय साझेदार तथा सरोकारवालासँग समन्वय गर्ने क्षमता पनि उनको बायो डेटा मा प्रमुख व्यावसायिक दक्षताका रूपमा उल्लेख गरिएको छ।


Read Previous

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस, कुनदेशका लागि को प्रस्तावित?

Read Next

मन्त्रिपरिषद् बैठक: १३ देशमा राजदूत सिफारिस, प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु श्रेष्ठ

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar