Nepal Purbadhar

चिनियाँ भिक्षु ह्वेनसाङको‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ पुस्तक नेपालीमा सार्वजनिक


काठमाडौं। चिनियाँ बौद्ध भिक्षु ह्वेनसाङको नेपाल यात्रा-विवरण समेटिएको ऐतिहासिक पुस्तक ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ को नेपाली अनुवाद सार्वजनिक गरिएको छ।

राजधानीमा आयोजित कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुस्तक विमोचन गरेका हुन।

कार्यक्रममा अध्यक्ष दाहालले पुस्तकमार्फत चीनको इतिहासका विभिन्न पक्षबारे जानकारी लिन सकिने बताए। जोखिमपूर्ण यात्रा गरेर चीन फर्किएका भिक्षु ह्वेनसाङले आफ्नो यात्राका क्रममा देखेका, भोगेका र सिकेका विषयलाई पुस्तकमा अभिलेख गरेको उनले बताए।

मञ्जुश्रीदेखि ह्वेनसाङसम्म तथा भृकुटी र अरनिकोका माध्यमबाट नेपाल-चीन सम्बन्ध सांस्कृतिक रूपमा जोडिएको उल्लेख गर्दै दाहालले दुई देशबीचको सम्बन्ध ज्ञान, सीप, संस्कृति र व्यापारका क्षेत्रमा समेत अघि बढेको बताए।

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै उनले चीन नेपालका लागि ठूलो विकास साझेदार भएको बताए।

पूर्वशिक्षामन्त्री रघुजी पन्तले पुस्तकको १२३औँ पृष्ठमा लुम्बिनीलाई बुद्धको जन्मस्थलका रूपमा उल्लेख गरिएको विषय महत्वपूर्ण रहेको बताए। ह्वेनसाङले लुम्बिनीमा सम्राट अशोकले बनाएको ढुंगाको स्तम्भ रहेको उल्लेख गरेको उनले बताए।

पन्तका अनुसार उक्त विवरणले बुद्धको जन्मस्थल लुम्बिनी नेपालमै रहेको ऐतिहासिक प्रमाणका रूपमा महत्त्व राख्छ। उनले बुद्धसँगै हिन्दू देवालयका प्रसङ्गसमेत ह्वेनसाङले आफ्नो विवरणमा उल्लेख गरेको बताए।

करिब एक हजार ४०० वर्षअघि प्राचीन चीनको राजधानी छाङ्आनबाट ह्वेनसाङ मध्य एसिया हुँदै अध्ययन भ्रमणमा निस्किएका थिए। पुस्तकमा उनी सन् ६३६ तिर नालन्दा पुगेको र त्यस क्रममा नेपालस्थित लुम्बिनीका साथै विभिन्न प्राचीन राज्य तथा धार्मिकस्थलको अध्ययन गरेको उल्लेख छ।

चीन फर्किएपछि ह्वेनसाङले आफ्नो यात्रा, अध्ययन तथा अनुभवमा आधारित विवरणलाई ‘महान् ताङको पश्चिमी क्षेत्रको अभिलेख’ का रूपमा तयार गरेका थिए। परम्परागत चिनियाँ भाषामा लेखिएको उक्त कृति करिब १ हजार ४०० वर्षपछि नेपाली भाषामा अनुवाद भएको हो।

गोधुली कला साहित्य प्रतिष्ठानले प्रकाशन गरेको पुस्तकको नेपाली अनुवाद दीक्षा दवाडीले गरेकी हुन् भने सम्पादन गणेशकुमार जिसीले गरेका छन्। आधुनिक चिनियाँ अनुवाद फु छियाङले गरेका हुन्। आवृत्ति छापाखाना प्रालिले मुद्रण गरेको पुस्तकको मूल्य १ हजार रुपैयाँ तोकिएको छ।


Read Previous

प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा राष्ट्रसंघ महासभामा सहभागी हुन न्यूयोर्क जाने

Read Next

स्वास्थ्य बीमाअन्तर्गत जेठमा १ अर्ब ४५ करोडभन्दा बढी भुक्तानी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar