Nepal Purbadhar

दशकपछि छेला औद्योगिक क्षेत्रको जग्गा भोगाधिकार खुल्यो, अब निर्माण अघि बढ्ने


महेन्द्रनगर। कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी-छेला औद्योगिक क्षेत्र स्थापनाका लागि सरकारले राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि एक दशकदेखि रोकिएको प्रक्रिया अघि बढेको छ।

बेदकोट नगरपालिका-२ र ३ मा रहेको वन क्षेत्रलाई २०७२ सालमा चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय गरिएको थियो। सुदूरपश्चिम प्रदेशको औद्योगिक विकास र विस्तारका लागि २०५२ सालमै प्रस्ताव गरिएको यो आयोजना सरकारी प्रक्रियागत झन्झटका कारण लामो समयदेखि अघि बढ्न सकेको थिएन।

हालै बसेको मन्त्रिपरिषद् बैठकले दैजी-छेला औद्योगिक क्षेत्र निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिएपछि जग्गाको भोगाधिकार र रुख कटानसम्बन्धी समस्या समाधान भएको दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले बताए।

उनका अनुसार १३६ दशमलव ५९ हेक्टर अर्थात् करिब २०२ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने प्रस्ताव छ। यसअघि ३४५ बिघा क्षेत्रफलमा औद्योगिक क्षेत्र बनाउने प्रस्ताव गरिएको थियो।

“गत वर्षको साउनमा फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय पुगेको थियो। अब रुख कटान र भोगाधिकारको समस्या रहेन,” पराजुलीले भने।

औद्योगिक क्षेत्र स्थापनाका लागि २०७७ सालमा शिलान्यास गरिएको थियो। तर रुख कटान र वन क्षेत्रको भोगाधिकारसम्बन्धी फाइल लामो समयसम्म मन्त्रालयमै अड्किएको थियो। २०७९ फागुनमा बेदकोट नगरपालिका-२ मा औद्योगिक क्षेत्रको सम्पर्क कार्यालय स्थापना गरिए पनि हालसम्म कर्मचारीविहीन अवस्थामा छ।

चालु आर्थिक वर्षमा छेला औद्योगिक क्षेत्र बाहिरको पहुँच मार्ग निर्माणका लागि २ करोड ५० लाख रुपैयाँ विनियोजन गरिएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले गत वर्ष साउनमा रायसहित फाइल वन मन्त्रालयमा पठाएको थियो।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश मल्लले निजी क्षेत्रले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाका लागि दबाब दिँदै आएको बताए। अब सबै प्रक्रिया पूरा भएकाले निर्माणलाई तीव्रता दिनुपर्ने उनको भनाइ छ।

“अब स्थलगत काम गर्ने वातावरण बन्नु सकारात्मक कुरा हो। निर्माणलाई तीव्रता दिनुपर्छ,” मल्लले भने, “औद्योगिक क्षेत्र स्थापना भएपछि रोजगारीसँगै आर्थिक गतिविधि बढ्नेछ।”

बेदकोट नगरपालिका-२ का वडाध्यक्ष नरेशबहादुर सिंहले मन्त्रिपरिषद्बाट वन क्षेत्र प्रयोगको स्वीकृति पाएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्माणका थप काम अघि बढाएको बताए।

औद्योगिक क्षेत्र सञ्चालनमा आए सुदूरपश्चिमका नागरिकका लागि रोजगारी सिर्जना हुनुका साथै उद्योगी व्यवसायीलाई उद्योग स्थापना र सञ्चालनका लागि सहज वातावरण बन्ने अपेक्षा गरिएको छ।


Read Previous

१५ वर्षपछि कमला नदीको पुल सञ्चालनको तयारी, दुई महिनाभित्र गाडी गुडाउने लक्ष्य

Read Next

सञ्चारमन्त्री र कोरियाली राजदूतको भेट, एआई र डिजिटल अर्थतन्त्रमा सहकार्य विस्तारबारे छलफल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar