
नयाँ वर्ष, नयाँ उत्साह, नयाँ यात्रा-नेपाल पूर्वाधार डट कम (www.nepalpurbadhar.com) आजबाट इन्फ्रास्ट्रक्चर कम्युनिकेसन नेपाल प्रालिको नयाँ परिचयसहित औपचारिक रूपमा पुनः सुरु भएको छ । यस अघि गाउँबेशी मिडिया नेटवर्क प्रालि मातहत सञ्चालित यो अनलाइन न्युज पोर्टल अब अनुभवी पत्रकार, पूर्वाधार क्षेत्रमा कलम चलाउने अनुसन्धानकर्ता र पूर्वाधार नीतिमा चासो राख्ने व्यक्तिहरूको नयाँ टिममार्फत पुन: सञ्चालनमा आएको छ ।
नेपाल आज पूर्वाधारको संक्रमणकालीन मोडमा छ । एकातिर ठूला ठूला आयोजनाहरूको घोषणा सञ्चारमाध्यममा प्राथमिकताका साथ प्रकाशित हुने गरेको छ। । अर्कातिर योजनाको कार्यान्वयनमा ढिलासुस्ती, अनुगमनको अभाव र नीति निर्माणमा असंगति देखिएको छ । हाम्रो प्रयास, यिनै विरोधाभासका बीचबाट पाठकलाई स्पष्ट, तथ्यपूर्ण र सन्तुलित जानकारी दिनु हो ।
हामी पूर्वाधारलाई केवल सडकमात्र होइन-सपना, सञ्जाल र सम्भावनाको रूपमा बुझ्छौं । जलविद्युत्, यातायात, सडक, आइटी पूर्वाधार, अटो पूर्वाधार, विकास /निर्माण, निर्माण सामाग्री, निजी क्षेत्र, लगानी, सार्वजनिक खरिद, परामर्शदाता, व्यापार र अर्थतन्त्रलगायतका विषयमा हामी नेपालका आवश्यकतासँग जोडिएका बहसलाई अघि बढाउनेछौं ।
नेपालमा बर्षेनि अर्बौं रुपैयाँ खर्च भइरहँदा पनि विकासको अनुभूति किन हुँदैन? किन योजना बनाउँदा नागरिकको आवाज सुनिदैन?, किन प्रत्येक ठूला आयोजनामा पारदर्शिता कम हुन्छ ? पूर्वाधार छनोट शक्ति केन्द्र र पहुँचमा आधारमा मात्रै किन गरिन्छ ? पूर्वाधारका आयोजनालाई सीमित व्यक्ति दुनो गाई मात्रै किन बनाइरहेका छन् ? यस्ता सवाल अब सञ्चारमाध्यमको मूल बहसको विषय बन्नुपर्छ । नेपाल पूर्वाधार डट कम त्यसको लागि पुनः सुरु भएको हो ।
हामी ब्रेकिङ समाचारको भीडमा हराउने छैनौं । बरु शान्त तर गहिरो खोजीपछि तथ्यमा आधारित समाचार र विश्लेषणमार्फत पाठकको सोचमा प्रभाव पार्ने प्रयास गर्नेछौं । सस्तो लोकप्रियता को सट्टा गुणस्तरीय पत्रकारिता हाम्रो आधार रहनेछ ।
हामी पूर्वाधारलाई अब केवल खबरको विषय होइन, नीतिगत पैरवी, बहस र सुझावको रुपमा समेत रूपान्तरण गर्नेछौं ।
नेपाल पूर्वाधार डट कमले पूर्वाधार क्षेत्रसँग सरोकार राख्ने सबैको साझा प्लेट फम बनाउने हाम्रो प्रयास हुनेछ । पूर्वाधारसँग सम्बन्धी सबै खालका समाचार र सूचना दिने हाम्रो प्रयास हुनेछ । क्षेत्रीय र अन्तर्राष्ट्रिय पूर्वाधार नीति,योजनालाई नेपालसँग जोडेर सूचना र समाचार पस्कने जमर्को गर्नेछौं । पूर्वाधारसँग सरोकार राख्नेहरु सबैको एकमात्र प्लेटफर्म हामी नेपाल पूर्वाधारलाई बनाउनेछौं ।
नेपालको पूर्वाधार डट कममा विकासको इतिहासदेखि वर्तमान, आगामी योजना, यसका सामाजिक र राजनीति पक्ष केलाउने प्रयास गर्नेछौं । पूर्वाधारका विज्ञ, विशेषज्ञको खोज,अध्ययन, अनुसन्धान समेत हाम्रा समाचारका विषयहरु हुनेछन् । पूर्वाधार क्षेत्रमा सक्रियहरुका लागि यो साझा थलो हुनेछ ।
पूर्वाधारमार्फत आर्थिक समृद्धि हासिल गर्न सकारात्मक विचार निर्माणका लागि लागि हामी सूचना र समाचारमार्फत सुसुचित गर्ने प्रयास गर्नछौं । पूर्वाधार क्षेत्रको व्यवसाय प्रवर्धनका लागि समेत भुमिका खेल्नेछौं ।
नेपाल पूर्वाधार डट कम आजबाट फेरि सुरु भएको छ । गुणस्तरीय खबर, जिम्मेवार दृष्टिकोण र समृद्ध नेपालको सोचसहित । अब हामी हरेक खबरको मूल मर्ममा पुग्नेछौं । तपाईं पनि हाम्रा यात्राका सहयात्री बनिदिनुहोस् । हामीलाई माया,हौसला, साथ,सहयोग र प्रतिक्रिया दिइरहनुहोस् । हामी तपाईहरुको साथ सहयोगका साथै प्रतिक्रियाको सदैव भोको हुनेछौं । साथै नयाँ वर्ष २०८२ को सम्पूर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा हार्दिक मंगलमय शुभकामना ।
धन्यवाद !
सम्पादक
नेपाल पूर्वाधार डट कम