
काठमाडौं। ७२ ओटा ब्रोकर कम्पनीको ट्रेड म्यानेजमेन्ट सिस्टम (टीएमएस) होस्ट गरिएको डेटा हबको डेटा सेन्टरमा र्यान्समवेयर आक्रमण भएपछि सोमबार सेयर कारोबार बन्द भएको छ। घटनाको जाँचबुझ गरी एक साताभित्र प्रतिवेदन पेस गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)ले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई निर्देशन दिएको छ।
सेबोनले कारोबार रोक्नुपर्ने अवस्था सिर्जना हुनुको कारण पहिचान गरी आवश्यक अध्ययन तथा जाँचबुझ गर्न र यस्ता घटना आगामी दिनमा दोहोरिन नदिन गर्नुपर्ने सुधारका सुझावसहित असोज १२ गतेभित्र प्रतिवेदन बुझाउन निर्देशन दिएको हो।
डेटा हबमा आइतबार बिहानदेखि प्राविधिक समस्या देखिएको थियो। पछि टीएमएस होस्ट गर्ने पूर्वाधारमा र्यान्समवेयर आक्रमण भएको पुष्टि भएको थियो। आक्रमणका कारण ७२ ओटा ब्रोकरका प्रणाली प्रभावित भएपछि थप जोखिम रोक्न सोमबारको नियमित सेयर कारोबार स्थगित गरिएको नेप्सेले जनाएको छ।
डेटा हबले आक्रमणअघि सुरक्षित गरिएको ब्याकअप डेटा अलग राखिएको जनाएको छ। र्यान्समवेयर अन्य जोडिएका नेटवर्क तथा प्रणालीमा फैलिएको हुन सक्ने जोखिमका कारण प्रभावित प्रणाली तत्काल अनलाइनमा नल्याइएको र फरेन्सिक विश्लेषण तथा सुरक्षा उपाय अपनाइरहेको जानकारी दिइएको छ।
यसैबीच, सेबोनले समस्याको प्राविधिक पक्ष पहिचान गर्न उपकार्यकारी निर्देशकको नेतृत्वमा पाँच सदस्यीय निरीक्षण टोलीसमेत खटाएको छ। टोलीले कारोबार स्थगन गर्नुपर्ने अवस्था किन आयो भन्ने विषयमा अध्ययन गरी आगामी दिनमा बजारलाई सुरक्षित, स्वस्थ र पारदर्शी बनाउन आवश्यक सुधारका विषयमा सुझाव दिनेछ।
स्टक ब्रोकर्स एसोसिएसन अफ नेपालका उपाध्यक्ष नितेशकुमार अग्रवालका अनुसार डेटा हबमा भएको साइबर आक्रमणपछि प्रणालीको क्लिनअपको काम भइरहेको छ। क्लिनअप सकिएर पुनः जाँच गरेपछि मंगलबारदेखि सेयर कारोबार सञ्चालन गर्न सकिने जानकारी आएको उनले बताए।
नेप्सेका प्रवक्ता मुराहरी पराजुलीले भने डेटा हबबाट मंगलबारदेखि कारोबार सञ्चालन गर्न सकिनेबारे औपचारिक पत्र भने प्राप्त नभएको बताएका छन्। यद्यपि अनौपचारिक रूपमा कारोबार सुरू गर्न सकिने जानकारी आएको उनले बताएका छन्।
डेटा हबको प्रणालीमा देखिएको समस्याले ब्रोकरहरूको टीएमएससँगै सीडीएससीसम्बन्धी प्रणाली, भुक्तानी गेटवे तथा अन्य आपसमा जोडिएका सेवासमेत प्रभावित भएको जानकारी सार्वजनिक भएको छ।
सेयर बजार सञ्चालनका लागि ७२ ओटा ब्रोकर एउटै डेटा सेन्टरको पूर्वाधारमा निर्भर रहेको घटनाले नेपालको पुँजी बजारको साइबर सुरक्षा तथा वैकल्पिक पूर्वाधारको विषयलाई समेत चर्चामा ल्याएको छ।

