Nepal Purbadhar

तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु,४ वर्षमा विद्युत उत्पादन   


फुङ्लिङ ।  जिल्लाको आठराई त्रिवेणी गाउँपालिका र फुङलिङ नगरपालिकामा पहिचान भएकाे १२८ मेगावाटको तमोर–मेवा जलविद्युत् आयोजनाको निर्माण सुरु भएकाे छ । बिहीबार भएकाे शिलान्याससँगै प्रवर्द्धक स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनीले लगानी गरेकाे आयोजनाको संरचना निर्माणकाे काम सुरु भएकाे हाे ।

संविधानसभा सदस्य सञ्चपाल मादेन र स्पार्क हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष भानेन्द्रकुमार लिम्बूद्वारा संयुक्त रूपमा आयोजनाको  शिलान्यास गरियाे । आयोजनाको वित्तीय व्यवस्थापन सम्झाैता भइनसकेकाे भएपनि स्वपुँजी लगानीबाट निर्माण सुरु गरिएकाे लिम्बुले बताए ।

उनका अनुसार  याे आयोजनाको निर्माण अबकाे ४ वर्षमा सम्पन्न गरी विद्युत उत्पादन गर्ने लक्ष्य छ । नेपाल विद्युत प्राधिकरणसँग भएकाे विद्युत खरिद सम्झाैता अनुसार प्रवर्द्धक कम्पनीले २०८५ सालको असोज २५ गतेभित्र विद्युत उत्पादन गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्नु पर्नेछ ।

ताप्लेजुङमा हाइड्रोपावर आयोजना बनेपछि जिल्लाको समृद्धिमा योगदान पुग्ने फुङ्लिङ नगरपालिका प्रमुख अमिर मादेनले बताए ।“ जिल्लामा विद्युत् आयोजना निर्माण हुनु आर्थिक समृद्धिको बाटो खुल्नु हो । जिल्लामा निर्माण हुने आयोजनाले स्थानीयलाई सेयर उपलब्ध गराउँछन् । प्रत्येकले सेयरमा लगानी गर्नुहोस् ,”उनले भने ।

आयोजना निर्माण हुँदा स्थानीय नागरिकलाई रोजगारीमा प्राथमिकता दिन र प्रभावित क्षेत्रमा सामाजिक उत्तरदायित्व निर्वाह गर्न पनि उनले आग्रह गरे ।     आयोजना निर्माण सम्पन्न गर्न २४ अर्ब ३२ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आवश्यक कूल लगानीको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाको ऋण हुनेछ । २५ प्रतिशत स्वपुँजी लगानी हुनेछ ।

आयोजनाबाट उत्पादन हुने विद्युत् खरिद मूल्य वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुक्खायाममा प्रतियुनिट  ८.४० रुपैयाँ निर्धारण गरिएको छ । यही मूल्यमा नेपाल विद्युत प्राधिकरणले आयोजनाको विद्युत खरिद गर्नेछ ।

ताप्लेजुङको तमोर र मेवा नदीको पानी उपयोग हुने गरी निर्माण हुने यो आयोजना सम्पन्न हुँदा वार्षिक ७११.४३ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ ।आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत कोसी कोरिडोर प्रसारण लाइन अन्तर्गत अहिले निर्माण भइरहेको २२० केभी ढुंगेसाँघु सबस्टेसनमा लगेर जोडिनेछ ।

सबस्टेसनसम्म १३२ केभी प्रसारण लाइन निर्माण गरी विद्युत पुर्याइने कम्पनीले जनाएको छ । यो आयोजनाको अध्ययन सन् २०१३ बाटै सुरु गरिएको भएपनि प्रसारण प्रणालीको संरचना निर्माण भइनसकेको हुँदा तथा समयमा लगानी जुट्न नसक्दा भर्खरै मात्र निर्माणमा गएकाे हाे ।


Read Previous

गण्डकीमा बहुवर्षीय आयोजनाका लागि १३ अर्बको स्रोत सुनिश्चित   

Read Next

प्राधिकरणकाे वीरगञ्ज वितरण केन्द्रले साढे ३ अर्ब रुपैयाँ विद्युत बक्याैता उठाउन बाँकी