Nepal Purbadhar

शुक्रबार, असार ७, २०८१
Friday, June 21, 2024

शुक्रबार, असार ७, २०८१
Friday, June 21, 2024

प्राधिकरणकाे वीरगञ्ज वितरण केन्द्रले साढे ३ अर्ब रुपैयाँ विद्युत बक्याैता उठाउन बाँकी 


वीरगञ्ज । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जको चालू आर्थिक वर्षको बैशाख मसान्तसम्ममा ट्रंक लाइन तथा डेडिकेटेड फिडर जोडेका उद्योगसहितका अन्य सबै प्रकारका ग्राहकबाट उठाउनु पर्ने विद्युत बक्याैता ३ अर्ब ४३ करोड २२ लाख २३ हजार ४ सय ६१ रुपैयाँ पुगेको छ । गत आवभन्दा चालू आवको १० महिनामा बक्यौता रकम २७ करोड ८१ लाख ९७ हजार ४ सय रुपैयाँ बढेको हाे ।

यो बक्यौता रकम ट्रङ्कलाइन तथा डेडिकेटेडलाइन जोडेका पाँच उद्योगीसहित अन्य औद्योगिक, घरासयी ग्राहक र सडकबत्ती बापतको हो । वितरण केन्द्रका अनुसार चालु आवको बैशाख मसान्तसम्ममा औद्योगिक ग्राहकको बक्यौता रकम २ अर्ब २७ करोड १० लाख २२ हजार १९४ रुपैयाँ छ ।

त्यसैगरी, सडकबत्तीको बक्यौता रकम २१ करोड २८ लाख ३५ हजार ५ सय ६ रुपैयाँ रहेको छ । त्यस्तै, घरायसी ग्राहकको बक्यौता रकम पनि ५३ करोड ४५ लाख ६७ हजार एक सय ८७ रुपैयाँ रहेको छ ।

केन्द्रको गत आवको असार मसान्तसम्ममा बक्यौता रकम ३ अर्ब १५ करोड ४० लाख २६ हजार ४ सय ५७ रुपैयाँ पुगेको थियो । प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अबधेशकुमार दुबेले चालु आवको वैशाख मसान्तसम्ममा विद्युत् महसुल भुक्तानी नगर्ने ३ हजार ३ सय ९६ ग्राहकको लाइन काटेर बक्यौता रकम उठाउँदै आइरहेको बताए ।

“वीरगञ्ज वितरण केन्द्र मातहत पाँचवटा ट्रंक लाइन तथा डेडिकेटेड फिडरबाट  विद्युत सेवा लिएका उद्योगी रहेकाले पनि बक्यौता रकम उच्च देखिएको हो”, उनले भने, “यो वर्ष हामीले कम्तीमा चार हजार घरको बिजुलीको लाइन काटेर बक्यौता उठाउने कोसिस गरिरहेका छौँ ।” केन्द्रले बक्यौता मासिक नतिर्ने तीन सयभन्दा धेरै ग्राहकको घरको विद्युत लाइन काट्दै आइरहेको छ ।

कार्यालय प्रमुख दुबेका अनुसार मासिक विद्युत्को महसुल तिर्नुपर्छ भन्ने चेतना अभावका कारणले पनि महसुल तिर्न आनाकानी गर्दै आइरहेका छन् । “करिब ४० प्रतिशत ग्राहकले मात्रै नियमित समयमा महसुल तिर्दै आइरहेका छन्”, उनले भने, “छिमेकीले बिजुलीको महसुुस नतिरेपछि लाइन काटियो भन्ने हल्लागाउँभरि फैलिएपछि मात्रै महसुल तिर्न आउने पनि भेटिन्छन् । त्यसैले पनि बक्यौता उठाउने कार्यलाई कडाइपूर्वक अघि बढाउँदै आइरहेका छौँ ।”

गत आवको अन्त्यसम्म औद्योगिक ग्राहकको बक्यौता रकम २ अर्ब ३ करोड ६२ लाख ११ हजार ७ सय ६९ रुपैयाँ रहेको थियो । सोही वर्ष सडकबत्ती बापतको बक्यौता १८ करोड ६७ लाख ७८ हजार १० रुपैयाँ रहेको छ । घरासयी ग्राहकको बक्यौता रकम ५३ करोड ७४ लाख ५३ हजार सात सय ८८ रुपैयाँ थियो ।


Read Previous

तमोर-मेवा जलविद्युत् आयोजनाको काम सुरु,४ वर्षमा विद्युत उत्पादन   

Read Next

सडक कालोपत्र भएपछि स्थानीयलाई आवागमनमा सहज   

Leave a Reply

Your email address will not be published.