Nepal Purbadhar

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024

सोमवार, बैशाख ३१, २०८१
Monday, May 13, 2024
राष्ट्रिय जलवायु परिवर्तनसम्बन्धी प्रतिवेदन सार्वजनिक    सोह्रौँ पञ्चवर्षीय योजना स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठाइयाे,विद्युत उत्पादन ११ हजार मेगावाट पुर्याइने नारायणी नदी व्यवस्थापनका लागि नवलपुर क्षेत्रमा तटबन्ध    वर्षाले सडक हिलाम्य हुँदा मुग्लिन–पोखरा सडक आवागमनमा सास्ती    कोहलपुर-सुर्खेत प्रसारण लाइन निर्माण ढिलाइप्रति प्रदेश सरकारकाे चासाे ऊर्जा मन्त्रालयको भौतिक प्रगति सन्ताेषजनक, केही आयोजना अझै सुरु हुन सकेनन् पूर्वपश्चिम राजमार्गको काँकरभिट्टा–लौकही सडकखण्ड स्तरोन्नतिमा माटोकाे समस्या    बागलुङपानी-भुजुङ सडक स्तरोन्नती हुँदै   

कालीगण्डकी करिडोरको मालढुङ्गा-बलेवा र बलेवा-हर्मिचौर सडक खण्डमा धमाधम काम   


गलकोट ।  राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बागलुङ खण्डको कामले तीव्रता पाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरको मालढुङ्गा–बलेवा र बलेवा–हर्मिचौर खण्डमा कालोपत्रका लागि पूर्वाधार निर्माणले तीव्रता पाएको हो ।

बागलुङ खण्डको ५४ किलोमिटर सडकमा कालोपत्रका लागि आवश्यक पूर्वाधार जस्तै सडक चौडा पार्ने, मेसिनरी पर्खाल, कल्भर्ट, ग्याबिन जालीलगायत पूर्वाधार निर्माण भइरहेको छ । दुईवटा खण्डमध्ये बलेवा हर्मिचौर खण्डमा तीव्र गतिमा काम भइरहेको छ भने बलेवा मालढुङ्गा खण्डमा सुस्त गतिमा काम भइरहेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए ।

निर्माण व्यवसायीलाई आर्थिक दायित्व भुक्तानी गर्न नसक्दा निर्माण व्यवसायीले भनेजस्तो गरी काममा तीव्रता दिन नसकेको उनकाे भनाइ छ । “दुवै खण्डमा धमाधम काम भइरहेको थियो, बजेट अभावले वलेवाबाट मालढुङ्गासम्मको १० किमी सडकमा काम सुस्त छ तर हर्मिचौरदेखि बलेवासम्मको ४४ किमी सडकमा कालोपत्रका लागि धमाधम पूर्वाधारको काम भइरहेको छ,” शर्माले भने, “बजेट निकासाका लागि पटक–पटक अर्थ मन्त्रालयमा म आफैँ पुगेको छु, बजेट निकासा गर्न सकेमा एक वर्षमा करिडोर कालोपत्र भइसक्ने देखिएको छ ।”

बलेवाबाट हर्मिचौर खण्डमा मात्रै सयौँको सङ्ख्यामा मजदुर र स्काभेटरलगायत आधुनिक औजार प्रयोग गरिएको छ । विभिन्न ठाउँमा पर्खाल लगाउने, नाली बनाउने, सडक चौडा बनाउने कार्य गरिएको छ । बागलुङ नगरपालिका–१ मालढुङ्गाबाट बलेवा विमानस्थलसम्मको १० किलोमिटर सडक एक खण्ड र बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको ४४ किलोमिटर सडक अर्को खण्डमा स्तरोन्नतिको काम भइरहेको छ ।
मालढुङ्गा–बलेवा खण्डको कामको जिम्मेवारीे खड्का–कृष्ण बिएन जेभीले लिएको छ । १० किलोमिटर दूरी रहेको यो खण्डका लागि ५५ करोड रुपैयाँमा निर्माण कम्पनीले ठेक्का लिएको हो । सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा–बलेवा खण्ड कालोपत्र गरी सक्नुपर्नेछ ।

बलेवा विमानस्थलबाट हर्मिचौरसम्मको सडकखण्ड कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले जिम्मेवारी लिएको छ । ३ अर्ब ३० करोड लागतमा ३ वर्षभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको छ । कालिका कन्स्ट्रक्सनलाई काम गरिसकेको मात्रै दायित्व ३० करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको कालीगण्डकी करिडोर आयोजना कार्यालयका पाल्पाका प्रमुख शङ्कर पौडेलले जानकारी दिए ।

उनले दायित्व भुक्तानी गर्न नसक्दा मालढुङ्गादेखि बलेवासम्मको पूर्वाधारको काम सुस्त भएको पौडेलले बताए । ५५ करोड रुपैयाँमा ठेक्कामा सवा दुई करोड दायित्व भुक्तानी गर्न बाँकी रहेको छ । यसैगरी, हर्मिचौरबाट बलेवा विमानस्थलसम्मको सडक खण्डको दायित्व समयमै भुक्तानी गर्न सकेमा निर्माणले थप गति लिन सक्ने बताए ।

“अहिले पनि अर्थ मन्त्रालयमै दायित्व भुक्तानीका लागि आएको छु, चालू आवमा ३० करोड रुपैयाँ भुक्तानी गर्न सके ४४ किमी सडक कालोपत्र प्रारम्भ हुने देखिएको छ,” प्रमुख पौडेलले भने, “निर्माण व्यवसायीलाई सम्झौताअनुसार काम गरेपछि दायित्व भुक्तानी गर्नु सरकारको दायित्व हो, हामी आशावादी छौँ ।”

हर्मिचौरबाट बलेवा विमानस्थलसम्मको खण्डमा ४० प्रतिशत आर्थिक प्रगति र ३५ प्रतिशत भौतिक प्रगति भएको छ । यसैगरी, तल्लो खण्ड मालढुङ्गाबाट बलेवासम्मको १० किमी सडकमा ३२ प्रतिशत भौतिक र २८ प्रतिशत आर्थिक प्रगति भएको छ ।

करिडोरमा विभिन्न स्थानमा गरी एक सय ४८ वटा घाट छन् । कालीगण्डकीमा मात्र पाइने शालिग्राम दर्शनका लागि धार्मिक पर्यटक आउनसक्ने सम्भावना उत्तिकै छ । करिडोर निर्माणपछि छिमेकी राष्ट्र चीन र भारतबीचमा आर्थिक, सामाजिक, सांस्कृतिक सम्बन्धलाई सुदृढ बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ ।

नेपालको उत्तरी सीमा चीनको कोरला र दक्षिणी सीमा भारतको सुनौली जोड्ने सबैभन्दा छोटो मार्गका रूपमा कालीगण्डकी करिडोरलाई लिइएको छ । कालीगण्डकी कोरिडोर (गैँडाकोट–राम्दी–मालढुङ्गा) सडक आयोजना कार्यालय पाल्पाले बागलुङको मालढुङ्गाबाट गुल्मीको हर्मिचौरसम्मको ५४ किलोमिटर सडक एकैपटक कालोपत्र सम्पन्न गर्नेगरी काम भइरहेको छ ।

करिडोर नेपालको आर्थिक, सामाजिक विकासको मेरुदण्ड हुने ठानिएको छ । करिडोर कूल ४ सय ३५ किलोमिटर लम्बाइ रहेको छ । कालीगण्डकी करिडोरअन्तर्गत कालोपत्र हुन लागेका दुई खण्ड हुँदै गुल्मी र बागलुङ जिल्लाका विभिन्न स्थानबाट बुटवल, बागलुङ, पोखरासम्म नियमित यातायात सञ्चालन गर्न सहज हुनेछ ।


Read Previous

‘विद्युत जडित क्षमता साढे २८ हजार मेगावाट पुर्याउन ३७ खर्ब लगानी आन्तरिक स्रोतबाट व्यवस्थापन गर्न सकिन्छ’

Read Next

पर्यटककाे पर्खाइमा तमोर नदी क्षेत्र   

Leave a Reply

Your email address will not be published.