Nepal Purbadhar

आगामी आवमा जलविद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य


काठमाडौं। सरकारले आगामी आर्थिक वर्षभित्र मुलुकको कुल जडित विद्युत् उत्पादन क्षमता ५ हजार ३३५ मेगावाट पुर्‍याउने लक्ष्य लिएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सार्वजनिक गरेको वार्षिक विकास कार्यक्रममा एक वर्षभित्र थप १ हजार ४० मेगावाट जलविद्युत् उत्पादन क्षमता विस्तार गर्ने उल्लेख गरिएको छ।

निर्माणाधीन तथा अन्तिम चरणमा रहेका जलविद्युत् आयोजनालाई समयमै सम्पन्न गर्न विशेष पहल गरिने जनाइएको छ। निजी क्षेत्रबाट निर्माण भइरहेका आयोजनालाई समेत सहजीकरण गरी तोकिएको समयमै सम्पन्न गर्ने लक्ष्य राखिएको छ।

विद्युत् प्रसारण पूर्वाधार विस्तारलाई पनि उच्च प्राथमिकता दिइएको छ। वार्षिक कार्यक्रमअनुसार ६६ केभी प्रसारण लाइन ७ हजार ४८ सर्किट किलोमिटरबाट बढाएर ७ हजार ८०८ सर्किट किलोमिटर पुर्‍याइनेछ।

यस्तै, ३३ केभी प्रसारण लाइन ८ हजार ३२५ सर्किट किलोमिटरबाट बढाएर ८ हजार ४२९ सर्किट किलोमिटर पुर्‍याउने लक्ष्य छ।

आगामी आर्थिक वर्षमा प्रतिव्यक्ति विद्युत् खपत ५११ किलोवाट घण्टा पुर्‍याउने तथा विद्युत् चुहावट १२.०३ प्रतिशतमा सीमित गर्ने लक्ष्य पनि राखिएको छ। लघु तथा साना जलविद्युत् आयोजनाबाट ४३ मेगावाट तथा सौर्य ऊर्जाबाट ९९ मेगावाट विद्युत् उत्पादन क्षमता थप गर्ने कार्यक्रम छ।

सरकारले नीति, कार्यक्रम र बजेटको कार्यान्वयनमार्फत थप १५ हजार ७७६ हेक्टर जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। साथै ठूला तथा मझौला नदीमा थप ७० किलोमिटर तटबन्ध निर्माण र २१० हेक्टर जमिन उकास गर्ने योजना छ।

मन्त्रालयका अनुसार जलविद्युत् विकासले राष्ट्रिय आवश्यकतासँगै क्षेत्रीय अर्थतन्त्रको विकासलाई पनि तीव्रता दिने अपेक्षा गरिएको छ। यसबाट आर्थिक विकास, औद्योगिकीकरण, बाढी नियन्त्रण, वातावरण संरक्षण र रोजगारी सिर्जनामा योगदान पुग्ने बताइएको छ।

आगामी आर्थिक वर्षमा १२ वटा प्रसारण लाइन आयोजना सम्पन्न गर्ने लक्ष्य छ। ती आयोजना पूरा भएपछि आन्तरिक विद्युत् प्रवाह सहज हुने र उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न सकिनेछ।

काठमाडौँ उपत्यकाको मध्यभाग हुँदै जाने प्रसारण लाइन निर्माणको योजना पनि कार्यान्वयन गरिने मन्त्रालयले जनाएको छ।


Read Previous

एकैदिन ८९ दुर्घटना, ११ को मृत्यु १९१ घाइते, ट्राफिक कारबाहीमा करिब १८ लाख संकलन

Read Next

भारतमा सैन्य विमान दुर्घटना, मानवीय क्षतिको विवरण आउन बाँकी

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar