Nepal Purbadhar

बजेटले आर्थिक गतिविधि चलायमान बनाउने विश्वास : बैंक तथा वित्तीय संस्था परिसंघ


काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सरकारले ल्याएको बजेटको स्वागत गरेको छ।

परिसंघले शनिबार विज्ञप्ति जारी गर्दै बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत र संरचनागत सुधारका पहल सकारात्मक रहेको जनाएको हो।

परिसंघका अनुसार पछिल्लो समय बैंकिङ क्षेत्रबाट अपेक्षित रूपमा कर्जा विस्तार हुन नसकेको, साथै बढ्दो खराब कर्जाको चुनौती देखिएको अवस्थामा नयाँ बजेटले अर्थतन्त्रलाई पुनः चलायमान बनाउने आशा र विश्वासको आधार तयार गरेको छ।

विज्ञप्तिमा कर प्रणाली सुधार, उद्योग–व्यवसायका लागि सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा प्राथमिकता र ऊर्जा क्षेत्रको विकासलाई जोड दिइएकाले बजेटले लगानीमैत्री वातावरण निर्माण गर्न सहयोग पुग्ने उल्लेख गरिएको छ।

“आगामी आवको बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा आत्मसात् गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिन्छ,” विज्ञप्तिमा भनिएको छ।

परिसंघले व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, कर दरमा पुनरावलोकन, औद्योगिक कच्चापदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पुँजी परिचालनका व्यवस्थाले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरेको छ।


Read Previous

सुकुम्बासी व्यवस्थापनबारे प्रधानमन्त्रीको जवाफ: ‘३५ वर्षमा नभएको काम ३५ मिनेटमा हुँदैन’

Read Next

एलडीसी ग्र्याजुएसनबारे प्रधानमन्त्रीको भनाइ: ‘देशलाई पैसा चाहियाछ, पैसा बढाउनेतिर ध्यान गाछ हाम्रो’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar