Nepal Purbadhar

ग्लोबल आईएमई बैंकको सञ्चालक समितिमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त


काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडको सञ्चालक समितिको सदस्यमा पूर्वसचिव बिन्द्रा हाडा भट्टराई नियुक्त भएकी छन्।

शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।

नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले एक विशेष समारोहबीच सञ्चालक समितिमा स्वागत गरेका छन्।

भट्टराईसँग सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापनको क्षेत्रमा साढे तीन दशकभन्दा लामो अनुभव रहेको छ। उनले नेपाल सरकारका विभिन्न निकायमा रहेर महत्त्वपूर्ण जिम्मेवारी सम्हाल्दै प्रशासनिक नेतृत्व प्रदान गरेकी छन्।

पूर्वसचिव भट्टराईले सिँचाइ मन्त्रालय, नेपाल ट्रस्टको कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायतका निकायमा कार्य अनुभव हासिल गरेकी छन्।

उनले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासन विषयमा स्नातकोत्तर तथा कानुनमा स्नातक तहको अध्ययन पूरा गरेकी छन्। साथै अमेरिकाका विश्वविद्यालयहरूबाट सार्वजनिक नीति, व्यापार तथा वित्त र गैरनाफामूलक व्यवस्थापन विषयमा उच्च शिक्षा हासिल गरेकी छन्।

हाल भट्टराई दक्षिण एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्ट (साट्टी) की कार्यकारी सदस्यका रूपमा आबद्ध छिन्। साथै विभिन्न व्यावसायिक संस्थाहरूमा स्वतन्त्र सञ्चालकको भूमिकामा समेत कार्यरत छिन्।

बैंकले भट्टराईको आगमनसँगै संस्थाको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यहरूलाई अझ प्रभावकारी रूपमा अघि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालकहरू, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।


Read Previous

नेपाल टेलिकमको ‘फिफा विश्वकप २०२६ टिभी प्याकेज’मा समस्या आयो? यो नम्बरमा सम्पर्क गर्नुहोस्

Read Next

रास्वपाको बागमती प्रदेश अधिवेशनमा मतदान शुरू

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Nepal Purbadhar