
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनअन्तर्गत नयाँ कार्यसमितिको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन समितिले सार्वजनिक गरेको मतपरिणामअनुसार मोहनकुमार डाँगी अध्यक्षमा चयन भएका छन् भने कोषाध्यक्ष पदमा शंकर बस्याल विजयी भएका छन्।
इप्पानको संशोधित विधानको धारा १५ को उपधारा १२ बमोजिम मोहनकुमार डाँगी २४औँ वार्षिक साधारणसभा तथा आठौँ अधिवेशनबाट स्वतः अध्यक्ष बनेका हुन्। वरिष्ठ उपाध्यक्षमा उत्तम भ्लोन निर्विरोध निर्वाचित भएका छन्।
त्यसैगरी उपाध्यक्ष पदमा उत्तमकुमार श्रेष्ठ, नरेन्द्र वल्लभ पन्त, विक्रम विष्ट, सुसन कर्माचार्य र हिमप्रसाद पाठक निर्विरोध निर्वाचित भएका छन्। महासचिवमा टेकनाथ आचार्य (टी.एन. आचार्य) तथा उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भए।
सचिव पदमा अभिज्ञा मल्ल, ईशा श्रेष्ठ, कुँवरमणि नेपाल, विजयमोहन भट्टराई र सुमनकुमारी जोशी निर्विरोध निर्वाचित भएका छन्। यसपटक देखि उपाध्यक्ष र सचिवको संख्या बढाएर ७-७ बनाइएको थियो। नियमित अधिवेशनबाट हाल ५-५ जना निर्विरोध रहेका हुन भने बाँकी २-२ जना समितिले मनोनित गर्ने छ।
यस अधिवेशनमा सबैभन्दा प्रतिस्पर्धात्मक बनेको कोषाध्यक्ष पदमा शंकर बस्याल विजयी भए। उनले २६७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिस्पर्धी मिथुन चक्रवर्ती प्रसाद पौडेलले ८२ मत प्राप्त गरे।
त्यसैगरी सदस्य (खुला) तर्फ अनुप आचार्य, कदम केसी, जगदीश सिवाकोटी, जगतबहादुर पोखरेल, नारायण कट्टेल, मिलन खड्का र वर्णन लामिछाने निर्विरोध निर्वाचित भएका छन्।
निर्वाचन समितिले नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई बधाई दिँदै संस्थाको आगामी कार्यकाल सफल बनाउन सबै सदस्यलाई सहयोग गर्न आग्रह गरेको छ।
यसपटकको निर्वाचनमा अधिकांश पदाधिकारी तथा सदस्यहरू निर्विरोध चयन भएका थिए। यद्यपि कोषाध्यक्ष पदमा भने निर्वाचन नै गराइएको थियो।
नयाँ नेतृत्वले आगामी कार्यकालमा निजी ऊर्जा क्षेत्रका चुनौती समाधान, विद्युत् उत्पादन विस्तार तथा लगानीमैत्री वातावरण निर्माणमा सक्रिय भूमिका खेल्ने अपेक्षा गरिएको छ।

